अकासियो घरजग्गा :

'अब त किन्नै नसकिने भइयो ।''बेलैमा किनेर बुद्धि पुर्‍याइएछ ।''कस्तो कुबेलामा बेचिएछ ''अब कहिले घट्ला जग्गाको भाउ'? चोक, चियापसल, कार्यालय वा अन्य जमघट सबैतिर चर्चामा छ, घरजग्गा कारोबार । काठमाडौं उपत्यकामा जुन मात्रामा जग्गाको भाउ अकासिएको छ त्यसकै तुलनामा बाहिर बढेपछि धेरैको मुखमा यस्ता टिप्पणी सुनिन थालेका छन् । कारोबारीहरू रोपनी, बिघा, कित्ता, हात, मोहडा, बाटो, नाप नक्सामा व्यस्त देखिन्छन् । जग्गा व्यवसायी त यसमा सामेल हुने नै भए, व्यापारी, शिक्षक, कर्मचारी, वकिललगायतका अन्य पेसाकर्मी ढुक्कैले यतै लागेपछि घर जग्गा कारोबारले उचाइ लिएको हो ।
'ठूलो प्लट खोज्न माडी जानुपर्छ,' चितवन भूमि समन्वय समाजका अध्यक्ष दिनेश चुकेले सुनाए, 'यता त जमिन सकियो ।'खेतीयोग्य जमिनमा 'प्लानिङ' गरेर घडेरीको कारोबार हुन थालेपछि खाद्यान्न संकट निम्तिने चिन्ता उनको छ । जिल्लामा 'रियल स्टेट' र 'हाउजिङ' व्यवसायको थालनी गरेका चुकेले पछिल्लो समय ग्रामीण क्षेत्रका जग्गासमेत धमाधम 'प्लानिङ' भएकाले चिन्ता व्यक्त गरेका हुन् । चितवन, पोखरा, हेटौंडालगायत ठाउँका जमिन खण्डहर बनेका छन् । रूख काटिएको छ । बिजुलीका पोल ठड्याइएका छन् । बीचमा पिच गरिएको छ । भरतपुर र नारायणगढमा खाली ठाउँ छैन । समाजमा संगठित १ सय ५० व्यवसायी छन् । आबद्ध नभएका सयौं छन् । २० वटाभन्दा बढी संस्था व्यवसायका लागि वैधानिक छन् । काठमाडौंबाट जिल्लामा ठूला 'डाउनटाउन' र 'रोडसोज' हाउजिङ कम्पनी भित्रिने तयारीमा छन । 'मेघा प्रोजेक्टका रूपमा भित्रिदैछन्,' चुकेले भने, 'जमिन पाइरहेका छैनन् ।''विदेशबाट पैसा आयो भन्ने सुन्ने बित्तिकै दलालीहरू दैलोमै पुग्छन्,' उनले भने, 'रेमिट्यान्स घरगज्जामै खर्च भइरहेको छ ।' कुल जग्गाको ७० प्रतिशत कारोबार रेमिट्यान्सकै कारण भएको छ । ३० प्रतिशत मात्रै स्थानीय आम्दानीको योगदान भएको दाबी व्यवसायीको छ ।
खेतीपातीले हरिया देखिने फँाट डोजर लगाएर धमाधम 'प्लटिङ' भइरहेका छन् । सबेरैदेखि साँझसम्म मोटरसाइकल र कारमा जग्गा देखाउने र हेर्नेको ताँती लाग्ने गरेको छ ।

source:kantipur