पत्रकार विष्टले आत्महत्याको कोशिष गरेकी थिइन् : माओवादी

रुकुमकी पत्रकार टीका विष्ट सांघातिक हमलाबाट घाइते भएको नभई उनले आत्महत्याको प्रयास गरेको आरोप माओवादीले लगाएको छ। माओवादी सभासद् लोकेन्द्र बिष्ट मगरले व्यवस्थापिका-संसद्को विशेष समयमा बोल्दै यस्तो दाबी गरेका हुन्।
माओवादीलाई बद्नाम गर्ने नियतले षड्यन्त्रपूर्वक मुखुण्डोधारी वाइसीएलको हात छ भनेर आरोप लगाइएको दाबी गर्दै उनले भने, 'उनी पीडित गरिब व्यक्ति हुन् तर उनको आत्महत्याको स्तरसम्मको कुरा आएको छ।'
मंसीर २३ गते बिहान ११:५० देखि १२ बजेबीच रुकुम सदरमुकामको सिडिओ र डिएसपी कार्यालय नजिकै घटना भएको जानकारी दिंदै रुकुमका सभासद् मगरले भने, 'उनको औला कलिकति काटिएको छ, ज्यान मार्ने हो भने अलिकति काट्दैन।' त्यसअघिदेखि नै उनको अवस्था अस्वाभाविक देखिएको दाबी गर्दै भने, 'स्थानीय सिस्ने एफएमभित्रको अन्तरर्विरोधले पनि काम गरेको छ, त्यसमा षड्यन्त्र बुझिएको छ।'
यो घटनालाई नियोजित रुपमा माओवादीविरुद्ध प्रचार गरिएको विष्टको आरोप छ।

source:nagariknews