नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल श्रीपेचविनाको राजा बन्ने दुष्प्रयास गरिरहेको आरोप लगाएका छन् ।
पत्रकार महासंघ स्याङजा शाखाको प्रथम साधारणसभा उदघाटन गर्दै पौडेलले अर्काको मोजमस्तीमा रमाएर दाहाल राजा बन्ने प्रयासमा रहेको आरोप लगाए । 'मुलुकमा हत्या, हिंसा र आतङ्कलाई केन्द्रीकृत गरेर अर्काको मेहनतमा मोजमस्ती गर्ने नयाँ वर्ग जन्मन खो जेको छ,' दाहाललाई लक्षित गर्दै पौडेलले भने, 'त्यसमा हामी सतर्क हुनु जरुरी छ ।'
शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र नयाँ संविधान जारी गर्ने काम गर्नुभन्दा पहिले माओवादी लडाकूको समायोजन गर्नुपर्ने पौडेलको भनाइ छ । क्यान्टोनमेन्टमा हतियार राखेर चाबी आफूसँग भएकाले माओवादीले अन्य दलहरुलाई धम्क्याएको उनले आरोप लगाए ।
कार्यक्रममा कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले माओवादी आन्दोलनको कुनै तुक नभएको बताए । 'एउटा पार्टीले हातमा हतियार लिएर धम्क्याउने,' श्रेष्ठले भने, 'अरु दल भने निशस्त्र बनेर बाहिर बसेर समस्याको निकास टुङ्गोमा पुग्दैन ।'
source:kantipur