राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वरको आमसभामा व्यक्त गरेका अभिव्यक्ति राष्ट्रियता विरोधी र आपत्तिजनक भएको बताएका छन्। आन्तरिक विषयमा विदेशी हस्तक्षेप निम्त्याउन हुँदैन भन्दै उनले सबैभन्दा ठूलो दलको नेताले बोल्दा हचुवाको भरमा बोल्नु हुँदैन भने। र, दाहाललाई सुझाव दिए- तपाईंजस्तो मान्छेले जोखतौल गरेर बोल्ने गर्नुस्। अध्यक्ष राणाले तत्कालीन राजा ज्ञानेन्द्रको असंवैधानिक कदमको प्रष्ट आलोचना गरेकै कारण पार्टी फुटाइएको खुलासा पनि गरे। 'हामीले राजाको कदम जनविरोधी भनेकै कारण पार्टी फुटाइयो', उनले थपे- विरोधमा सडकमै ओर्लेको भए अर्को पटकसमेत पार्टी फुट्थ्यो। सरकारले राष्ट्रसङ्घीय शान्ति मिसन (अनमिन) को म्याद ६ महिना थप्ने बताइरहँदा राप्रपा अध्यक्ष राणाले भने अनमिनको नेपाल बसाई सकेसम्म छोट्याउनुपर्ने बताए।
बुधबारदेखि संसद सुचारु भएकोमा आफू आशावादी भएको उल्लेख गर्दै अध्यक्ष राणाले मुख्य तीन दलबीच सहमति भए ५ महिनाभित्रै संविधान निर्माण गर्न सकिने बताए। माओवादीको गणराज्य घोषणाले सामाजिक सदभाव बिथोलेको राणाको आरोप छ। उनले भने- यस्ता घोषणा र क्रियाकलापले मुलुकलाई अराजकतातर्फ लैजान्छ। मंसिर ३० गते काभ्रेको बालुवा–३ मा रहेको राणाको जग्गासमेत माओवादीले कब्जा गरेकोप्रति सञ्चारकर्मीको जिज्ञासामा उनले भने- आफ्नो जग्गाको कुरा म गर्दिन, तर, कसैको पनि जग्गा कब्जा गर्न पाइँदैन। माओवादीले वृहत् शान्तिसम्झौताको उल्लङ्घन गरेर व्यक्तिको सम्पति कब्जा गरिरहेको उल्लेख गर्दै राणाले सरकारले कब्जा गरिएका सम्पति फिर्ता गराउनुपर्ने बताए।
राप्रपाको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक प्रवासी सङ्गठनको अन्तरक्रियामा राजपा र राप्रपाबीच एकीकरणका लागि सकारात्मक ढङ्गले कुरा अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष राणाले 'एक भयौं' भन्ने खबर पत्रकारलाई चाँडो सुनाउन आफू आतुर रहेको
पनि उल्लेख गरे।
source:nagariknews