राष्ट्रिय शक्तिहरूको सट्टा सोझै नयाँ दिल्लीसँग वार्ता गर्ने घोषणा गरेको भोलीपल्ट एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शाही शासनकालका परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको घरमा एमाले अध्यक्ष झलनाथ खनालसँग भेटघाट गरेका छन्। वुधवार साँझ करीव साढे तीन घण्टा भएको भेटघाटमा मुलुकको राजनीतिक संकट गहिरिदै गएको विषयमा समीक्षा भएको थियो। मुख्य राजनीतिक दलहरूवीच समझदारीको विकल्प नभएको बताउदै दुवै नेताहरूले आ-आफनो पक्षको अडानमा लचिलो बन्ने विषयमा छलफल गरेका थिए। त्यसो त पाण्डेले राजनीतिक गतिरोध अन्त्यको लागि विगतका अडानहरू विर्सिएर नयाँ ढगले समझदारी गर्दै अघि बढनुपर्ने प्रस्ताव राखेका थिए। प्रमुख तीन दलको अडानका कारण मुलुकमा संकट देखिएको बताउदै उनले आ-आफना अडानमा लचिलो भएर अघि बढन सुझाव दिएका थिए।
पाण्डेले विगतमा पनि राजनीतिक संकट आउदा समाधानको उपाय निकाल्दै आएको दावी गरेका थिए। अप्ठेयारो परेको वेला यस्तो भेटघाट तय गर्ने जिम्मेवारी दिएकोमा पनि पाण्डेले नेताहरूलाई धन्यवाद दिएका थिए।
यता खनालले चाहिं आफुले भेटघाट नगरेको बताएका छन्। 'रमेशनाथ पाण्डेसँग मेरो साइनो न सम्बन्ध', एमाले अध्यक्ष खनालले भने, 'भेटघाट भएको भन्ने गलत हो, मैले भेटेकै छैन।'
source:nagariknews