चीन भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल र समकक्षी चिनियाँ प्रधानमन्त्री वेन जियाबाओबीच दुईवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । ग्रेट हल अफ द पिपुलमा मंगलबार सांझ आयोजित विशेष समारोहमा हस्ताक्षरित दुईवटा सम्झौतामध्ये १५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग र युथ एक्स्चेन्ज कार्यक्रम छन् । दुईवटै सम्झौतापत्रमा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले हस्ताक्षर गरिन् । चिनियाँ सरकारका तर्फबाट भने १५ करोड युआनका सम्झौतामा विदेशमन्त्री याङ जेइची र युथ एक्सचेन्जसम्बन्धी सम्झौतामा उद्योगमन्त्री चेन डेमिङले हस्ताक्षर गरेका थिए ।
नेपालको पूर्वाधार, हाइड्रोपावर, पर्यटन र कृषिक्षेत्रको विकासका एजेन्डाहरूमा नीतिगत सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । प्रधानमन्त्री नेपालले दुईपक्षीय वार्ताको सुरुमै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहर्याउँदै नेपालको भूमि चीनको विरुद्ध प्रयोग हुन नदिने बताए । चीनले गरेको विकासको प्रशंसा गर्दै प्रधानमन्त्रीले नेपालको विकासमा चिनियाँ लगानीको आग्रह गरेका थिए । चीन र नेपालबीच ऐतिहासिक, सांस्कृतिक, व्यापारिक, कूटनीतिक, सामाजिक लगायतका निकट सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समयानुकूल पुनरावलोकन गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री नेपालले विदेश मामलामा नेपाल र चीनको समान धारणा रहेको उल्लेख गर्दै पञ्चशीलको मान्यतामा नेपाल प्रतिबद्ध रहेको जनाए । नेपालले समकक्षी जियाबाओलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । निमन्त्रणालाई स्वीकार गरी चिनियाँ प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने बताएको कुरा सल्लाहकार राजन भट्टराईले बताए ।
source:kantipur