दोहा(कतार), २०६६ पुस ८ - घरेलु कामदारको रुपमा साउदी अरेविया आएर विभिन्न समस्यामा परेका १५ नेपाली महिला अहिले दिउसो स्वदेश फर्किदै छन् । साउदी अरेवियाको राजधानी रियादस्थित नेपाली दुतावासले उनीहरुलाई विभिन्न समयमा उद्धार गरी स्वदेश पठाएको हो ।एयर अरेवियाको फ्लाईट नम्बर जी ९५३७ को उडानमा रहेका उनीहरु अहिले दिउसो पौने एक बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पुग्ने दुतावासले विज्ञप्ती मार्फत जनाएको छ । उनीहरु मध्ये तीन जनालाई दुतावासले हवाई टीकटको व्यवस्था गरेको थियो भने बाँकी अरुले आफ्नै खर्च र साउदी तथा नेपालस्थित आफन्तको सहयोगबाट टीकट किनेर उडेका थिए ।स्वदेश फर्किने महिलाहरुमा उदयपुर,बसाह-५ की अस्मीता राई,बसाह-२ की सनसरी विक, बसाह-२ कै गंगामाया दमाई, रुपन्देही,सिद्धार्थ-१ की विष्णु केसी,सिद्धार्थ-१ कै पुष्पा थापा मगर, रुद्रपुर -२ की मिना काउछा, बुटवल -९ वुद्धडाडा की कुमारी कुंबर र बुटवल-१५ बेलबास की पवित्रा ठकुरी छन् । त्यसै गरी, सुनसरी धरान-६ की जीना राई, सुनसरी इनरुवा-५ की शितल शारदा, स्याङ्जा सिरकोट-३ की रामसरी गुरुङ, नुवाकोट देउराली-५ की विमाला तामाङ, नवलपरासी माकर-४ की यशोदा बराल, चितवन लैनचोक-४ की उषा परियार र झापा झिलझिले-३ की लक्ष्मी परियार स्वदेश फर्किदै गरेको रियादस्थित नेपाली दुतावासका प्रथम सचिव खड्गप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । यसैवीच, दुई नेपाली महिलाको शव रियादस्थित सरकारी अस्पतालमा वेवारिस अवस्थामा भएको रियादस्थित नेपाली दुतावासले विज्ञप्ती मार्फत जनाएको छ । उनीहरुको राहदानी तथा काममा लगाउने साहुको विवरण पत्ता नलागेकोले कानुनी कारवाही अघि बढाउन समस्या परेको दुतावासको भनाई छ । दुतावासले ती महिलाहरु एक साहुको घरबाट भागेर अर्कोमा काम गर्दा विरामी परेर उपचार हुन नसकेको, बलात्कृत भएर मृत्यु भएको वा हत्या भएको हुन सक्ने जनाएको छ । नेपाल सकाररले खाडीमा मुलुकमा घरेलु कामदारको रुपमा महिलालाई पठाउन रोक लगाए पनि दलालहरुले भारतको बाटो ल्याएर उनीहरुलाई आर्थिक, मानसिक तथा शारिरीक शोषणमा पर्न बाध्य बनाएका छन् ।भारतीय नाकाबाट घरेलु कामदारको रुपमा विदेश जाने क्रमलाई नेपाल सरकारले कुटनैतिक पहल गरी रोक्नु पर्ने आवाज वर्षौ देखि उठ्दै आए पनि अहिलेसम्म कुनै काम भएको छैन ।
source:kantipur