नेपाली कङ्ग्रेस, नुवाकोटका जिल्ला सदस्यलाई वाइसिएलका कार्यकर्ताले मार्ने धम्की दिएका छन्। पत्रकारलाई समाचार दिएकोमा आपत्ति जनाउँदै मोबाइलमा फोन गरी आफूलाई वाइसिएल बताउने एक जनाले
बारम्बार फोन गरेर ७ दिनभित्र मार्ने धम्की दिएको विनोद पाठकले बताए।
एकिकृत नेकपा माओवादीका कार्यकर्ताले नेपाली कङ्ग्रेस थानसिङ गाउँ कमिटी सदस्य बच्चुकृष्ण थापा, उनका छोरा मनोजजङ्ग थापा र बुहारीलाई बाटो निर्माणका क्रममा कुटपिट गरेका थिए। उक्त समाचार नुवाकोटका पत्रकारलाई दिएको आरोप लगाउँदै पाठकलाई ९८४९२९१०३८ नम्बरको मोबाइलबाट फोन गरी धम्की दिइएको हो।
धम्की आएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलसमक्ष बुधबार नेपाली कङ्ग्रेस नुवाकोटका सभापति ध्रुव अधिकारीको नेतृत्वमा एक टोली पुगेको थियो। टोलीले दोषीलाई कारबाही र पाठकको सुरक्षाको माग गर्दै उजुरी दिएको छ। प्रजिअ भुर्तेलले कारबाहीका लागि प्रहरीलाई निर्देशन दिइसकेका छन्।
source:nagariknews