भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाल प्रवेश गरी कञ्चनपुर त्रिभुवनबस्ती— ४ आनन्दनगरमा आतंक मच्चाएका छन् । हतियारसहित गाउँ पसेका एसएसबीका जवानले धम्क्याएपछि आनन्दनगरका बूढाबूढी र महिला सोमबार रातभरि सुतेनन्, युवा त मध्यरातमा गाउँ छोडेरै भाग्न बाध्य भए ।नेपाली युवासँग सोमबार दिउँसो भएको सामान्य विवादलाई बहाना बनाएर एसएसबीका सुरक्षाकर्मी साँझ नेपाल प्रवेश गरेका थिए । भारतीय सुरक्षाकर्मी गाउँ प्रवेश गरेर धम्क्याउन थालेपछि युवाहरू भागेका छन् । साँझ साढे ५ बजे हतियारसहित एसएसबीको समूह आनन्दनगर प्रवेश गरेको थियो । घरघरमा गएर नेपाली युवासँग सोधपुछ गर्दै मार्ने धम्की दिन थालेपछि सबै युवा गाउँ छोडेर भागेको स्थानीय बासिन्दाले बताए ।
'घरमा कोही बसेनन्, बस्नै सकेनन्,' स्थानीय बासिन्दा कृष्ण लामिछानेले भने, 'हाम्रो मान्छेलाई कुट्ने को हो ? बताउँछौ कि गोली हानी मारौँ भन्दै धम्क्याउन थाले ।'तीन दिनअघि भारतबाट बसाइँ सरेर घरायसी सामान लिएर ४ पुसमा घर फर्किंदै गरेकी एक महिलाको सामान एसएसबीका जवानले खोसेका थिए । नेपाली सीमाभित्र आइसकेकी महिलालाई नियन्त्रणमा लिएर सामानसहित एसएसबीको क्याम्पमा लग्न खोजिएपछि विवाद चर्किएको थियो । नेपाली भूमिमा प्रवेश गरेका एसएसबीका सुरक्षाकर्मी र नेपाली सर्वसाधारणबीच झडपसमेत भएको थियो । तर, दिउँसोको तनाब सामान्य भएपछि एसएसबीका जवान हतियारसहित नेपाल प्रवेश गरेर आतंक मच्चाएका हुन् । 'रातिसम्म दुःख दिए,' स्थानीय बासिन्दा राजेन्द्र नेपालले भने, 'कुटपिट गर्ने को-को हुन् भन्दै घर-घरमा पसेर तर्साए । बन्दुक देखाएर गाली गर्दै मार्ने धम्की पनि दिए ।'एसएसबीका जवान पसेपछि नेपाली बस्तीमा हल्लीखल्ली र रुवाबासी चलेको थियो । एसएसबीका जवान फर्केर गए पनि पक्राउ गर्न राति आउने धम्की दिएका थिए । राति आउने भनेकाले सुत्न नपाएको नेपालले बताए । 'कति वेला आएर मार्छन् भन्ने डरले निद्रा लागेन,' उनले पीडा सुनाए । स्थानीय बासिन्दाले सुरक्षाका लागि तत्कालै त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । तर, नेपाली सुरक्षाकर्मी गाउँ गएनन् । 'भारतीय सुरक्षाकर्मी फर्किसकेका थिए, फेरि राति पनि भइसकेको थियो,' इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नृप शाहले भने ।
घटनालाई लिएर स्थानीय प्रशासन र व्यापारीले मंगलबार भारतीय प्रशासनसँग छलफल गरेका छन् । आनन्दनगरमै मंगलबार भएको छलफलमा एसएसबीको बसई क्याम्पका इन्चार्ज आरके सिंहले गल्ती भएको स्विकार्दै अबदेखि यस्तो हुन नदिने प्रतिबद्धता जनाएको प्रहरी निरीक्षक शाहले बताए । बुधबार दिउँसो सशस्त्र प्रहरी सीमा सुरक्षा बेसक्याम्प, बेलौरीका सशस्त्र प्रहरी उपरीक्षक सरोज खड्का, त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नृप शाह, एसएसबीको बसई क्याम्प-इन्चार्ज आरके सिंह, कञ्चनपुर उद्योग वाणिज्य संघ त्रिभुवनबस्ती शाखा-अध्यक्ष वीरबल विश्वकर्मा, आनन्दनगर बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर शाहीलगायतका बीचमा छलफल भएको थियो । छलफलमा सञ्चारकर्मीलाई फोटो खिच्नसमेत रोक लगाइएको थियो ।
source:nayapatrika