उपत्यका पाँच स्थानमा फ्लाई ओभर :

काठमाडौं पुस ६- सरकारले उपत्यकाको सवारी व्यवस्थापनको लागि पाँच वटा फ्लाई ओभर(सवारी चल्ने सडक) निर्माण गर्ने भएको छ। उपत्यकामा बढ्दो सवारी साधन र ट्राफिक जामले हैरानी भएपछि सरकारले उपत्यका विभिन्न व्यस्त सडकमा फ्लाई ओभर निर्माण गर्न लागेको हो। 'हामी आफ्नै स्रोतबाट पाँच वटा फ्लाई ओभर निर्माणको तयारीमा छौ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव तुलसी प्रसाद सिटौलाले नागरिकसँग भने, 'यसका लागि विभिन्न क्षेत्रको सम्भाब्यता अध्ययन गर्दछौ। उनका अनुसार यही वर्ष फ्लाइ ओभर निर्माणको सम्भाब्यता अध्ययन हुनेछ। मन्त्रालयका अनुसार आठ वटा स्थानमा सम्भाब्यता अध्ययन गरिने र पहिलो चरणमा पाँच वटा मात्र निर्माण गरिनेछ।
सिटौलाले सवारी व्यवस्थापनको लागि फ्लाई ओभर आवश्यक भइसकेकोले आगामी वर्षदेखि निर्माण सुरु हुने जानकारी दिए।
'फ्लाई ओभर निर्माण नगरी सवारी व्यवस्थापन गर्न सकिने अवस्था छैन, ' उनले भने, 'त्यसैले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेका छौ। अहिले उपत्यकामा यात्रुहरुका लागि ओभरहेड ब्रिज मात्र रहेको छ। मन्त्रालयका अनुसार चक्रपथ र चक्रपथ भित्रका सडक जोड्न सकिने फ्लाई ओभर निर्माण हुनेछ।सिटौलाका अनुसारबालाजु,सातदोवाटो लगायतका क्षेत्रमा फ्लाई ओभर निर्माण हुने बताए।'हामीले कुन स्थानमा फ्लाई ओभर निर्माण गर्न आवश्यक छ त्यसको समेत अध्ययन गरिरहेका छौ,' उनले भने, 'सवारी व्यवस्थापन चुनौतिपूर्ण रहेको स्थानमा फ्लाई ओभर निर्माण हुनेछ।'यो फ्लाई ओभर दुई लेनको हुनेछ। पाँच मिटर चौडाई रहेको यो फ्लाई ओभर भौगोलिक हिसाबले लम्बाई बढ्नेछ। मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार महाराजगञ्जमा फ्लाई ओभर ७ सय ५० मिटरको हुने देखिएको छ। उनका अनुसार स्थान हेरेर फ्लाई ओभरको लम्बाई घटी वा बढी हुनेछ।

source:nagariknews