धेरैलाई लाग्दो हो, बेलायत पुगेपछि सारा दुःख सकिन्छ र सुखको दिन फिर्छ । त्यही सोचेर होला, भिसा लागेको दिन काठमाडौंमा साथी भाइ, इष्टमित्रलाई खुसी पार्न भोजै खुवाउनेको कमी छैन । त्यसरी नानाथरी सपना देखी लाखौं खर्चेर विदेशिनेको खुसी बेलायत पुगेपछि पनि बाँकी रहला ?'के रहन्थ्यो ?' बेलायतमा चार साताजति बरालिएर फर्केका हास्य कलाकार जितु नेपालले सुनाए, 'यहाँ भोज खुवाएर जानेले त्यहाँ हप्तौं भोकै बस्नुपरेको देखेँ ।'
दसैंपछिका चार साता सांगीतिक कार्यक्रमका लागि चकलेटी नायक दीलिप रायमाझीसँग बेलायत पुगेका उनले त्यहाँ हजारौं नेपाली विद्यार्थीले खपेको दुःख अहिले टेलिभिजनमा देखाइरहेका छन्, 'जिरे खुर्सानी' मा ।
'पहिलोपल्ट बेलायत जाँदा नेपाली विद्यार्थीको कन्तविजोग देखेर र्फकनु पर्यो,' लन्डनसहित बेलायतका पाँच ठाउँमा सांगीतिक समारोह गरी हजारौं दर्शकलाई हँसाएका जितुले सुनाए, 'एयरपोर्टमा जहाजबाट ओर्लेदेखि हामीले घुमेका सबै ठाउँमा दुःख पाएका विद्यार्थी बग्रेल्ती भेटिए । अध्ययनका निम्ति बेलायत जानेक्रम बढेको तर त्यहाँ रोजगारीको अवसर घटेकाले समस्या उत्पन्न भएको रहेछ ।' बेलायतमा २० हजार नेपाली विद्यार्थी रहेको अनुमान छ ।
पछिल्लो एक महिनामा १८ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंक ब्यालेन्स देखाई कम्तीमा आठ लाख खर्चेर बेलायत पुग्ने विद्यार्थीले जानासाथ रोजगारी नपाउने भएकाले कलेजमा पढ्न बाधा पर्ने गरेको अवस्था रहेछ । 'भन्नेबित्तिकै काम नपाएपछि मानसिक रूपमा कमजोर भएका विद्यार्थीले खान र घुम्नसमेत धौधौ पर्ने स्थिति देखेँ,' हतारमा निर्णय गरेर विद्यार्थीलाई बेलायत नजान आग्रह गर्दै जितुले भने, 'तीनचार महिनासम्म पुग्ने पैसाको जोहो गरेर जाँदामात्र पढ्ने माहौल हुने देखेँ ।'पहिले-पहिले नेपालीको संख्या कम हुँदा जतिबेर पनि काम गर्न छुट हुने बेलायतमा अचेल सातामा २० घन्टाभन्दा बढी काम गर्न नपाउने नियम बनाइएको रहेछ । 'विद्यार्थीले काम पाए पनि यो नियमका कारण पैसा थोरै कमाउँछन्,' पहिले-पहिले घन्टाको २०/२५ पाउन्डसम्म कमाउने नेपालीले अचेल मुस्किलले ५ पाउन्डमात्र पाउने उल्लेख गर्दै उनले थपे, 'साताभरिको कमाई एक सय पाउन्डमात्र हुँदोरहेछ, त्यतिले खान, लगाउन, कलेजको शुल्क तिर्न र घरभाडा बुझाउन कसरी सम्भव हुनु ?'बैंकमा घरजग्गा धितो राखी १५ प्रतिशत ब्याजदरमा पैसा झिकेर बेलायत पुग्ने कतिपय विद्यार्थी काम नपाएपछि पार्कमै सुत्ने, दूतावासको शरण लिने र चिनजानका आफन्तकोमा शरण लिने गरेका रहेछन् । पढ्ने महत्वाकांक्ष्ाा बोकेर त्यहाँ पुगेका विद्यार्थीलाई नेपालमा रहेका अभिभावकले 'छिटो पैसा पठाउनु, बैंकमा बुझाउनुपर्छ' भन्दै बेला-बेला सम्पर्क गरिरहनाले उनीहरू थप तनावमा हुने गरेको जितुले सुनाए । बेलायतमा नेपाली विद्यार्थी पढ्ने कलेज पनि खासै स्तरीय नभएको उनको मूल्यांकन थियो । बेलायत पढ्न जाँदा न्यूनतम तीन महिनालाई पुग्ने पैसा लैजाँदा, काठमाडौंबाटै आफू पढ्ने कलेज सुनिश्चित गर्दा र आफूलाई प्राविधिक रूपमा दक्ष बनाई जस्तोसुकै कामका लागि 'फिट' राख्दा नेपाली विद्यार्थीलाई समस्या नपर्ने जितुको ठम्याइ छ । भाडाको बोझ घटाउन एउटै कोठामा सात जनासम्म बस्ने विद्यार्थीलाई दुई वर्ष लगातार फेल भए कलेजले निष्कासन गर्ने उल्लेख गर्दै उनले भने, 'उच्च शिक्षा लिन बेलायत जान चाहनेले बेलैमा बुद्धि नपुर्याए अचाक्ली दुःख पाउँदा रहेछन् ।'यस्तो दुःख 'जिरे खुर्सानी' मा केही सातासम्म देख्न पाइनेछ ।
source:kantipur