पढ्नलाई होस्टल राखेको १७ वर्षीय छोरा अपहरणमा परेको खबर पाएलगत्तै सिनामंगल निवासी एक परिवारको होसहवास उड्यो। छोराका अपहरणकारीले तीन लाख माग गरिरहेका थिए। किशोर विद्यार्थी अपहरण परेको जानकारी आएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अनुसन्धानमा जुटे। केही समयअघि मात्रै नेपालगञ्जबाट अपहरित किशोरको हत्या भएकाले उनीहरू थप संवेदनशील भएका थिए। रातदिन लगाएर प्रहरीले अपहरितलाई राखेको स्थान पत्ता लगाई किशोरको उद्धार गर्यो। जब अपहरणको रहस्य खुल्यो, प्रहरी र अपहरितका परिवार दुवै छक्क परे। ती किशोरले आफ्नो प्रेमिकासँगै एकै कलेजमा पढ्नका लागि खर्चको जोहो गर्न अपहरणको नाटक गरेका रहेछन्। यो 'अपहरण'का पात्र हुन् १७ वर्षीय किशोर। उनी गोल्डेन गेट कलेजको कक्षा ११ मा पढ्दै थिए। परिवार सिनामंगलमा बसे पनि उनलाई होस्टेलमै राखेका थिए।
मकवानपुर स्थायी घर भएका उनकी प्रेमिका धुलिखेलमा रहेको काठमाडौं युनिर्भसिटीमा अध्ययन गरिरहेकी थिइन्। उनी पनि त्यही पढ्न जाने मनस्थितिमा थिए। तर परिवारले मानिरहेका थिएनन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार परिवारले धुलिखेल नपठाउने निश्चित भएपछि उनले प्रेमिकासँग सल्लाह गरी विश्वविद्यालयमा पढ्ने रकम जोहो गर्न अपहरणको नाटक गर्ने योजना बनाएका थिए। प्रहरीका अनुसार योजना बमोजिम मंसिर २५ गते प्रेमिकाले उनको दाजुलाई फोन गरेर 'किशोर अपहरणमा पर्यो, अपहरणकारीले तीन लाख मागिरहेका छन्' भन्दै जानकारी गराएकी थिइन्।
दोस्रो पटकबाट परिवारका सदस्यसँग फिरौतीको बार्गेनिङ उनी आफैंले गरेका थिए। उनले आफ्नै मोबाइलबाट दाजुलाई फोन गरी फिरौती मागेका थिए। परिवारका सदस्यहरूसँग सम्पर्कमा बसेर सहजकर्ताका रूपमा उनलाई उनको प्रेमिकाले सहयोग गरिरहेकी थिइन्। अपहरणको जानकारी पाएपछि आत्तिएका उनको परिवार महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका थिए। बेलुका साढे सात बजे अपहरणको जानकारी पाएलगत्तै प्रहरी टोली उनकोको खोजीमा जुटेको थियो। प्रहरी अधिकारीका अनुसार उनी बालकुमारी क्षेत्र वरिपरि रहेको जानकारी आएपछि प्रहरीले आफ्नो अनुसन्धान बालकुमारी क्षेत्रमा केन्द्रित गरेको थियो।
प्रहरीले फिरौतीका लागि फोन आउने मोबाइलको लोकेशन धुलिखेल देखिएपछि एउटा टोली धुलिखेलसमेत पुगेको थियो। धुलिखेलको टोली अनुसन्धानको क्रममा उनकै प्रेमिकासम्म पुगेपछि मंसिर २६ गते दिउसो २ बजे उनले परिवारलाई फोन गरी अपहरणकारीले आफूलाई तीनकुनेको सिद्धार्थ कटेजमा ल्याएर छोडेको जानकारी दिएका थिए।
प्रहरीले उनकी प्रेमिकासँग गरेको सोधपुछका क्रममा उनले अपहरण नाटक मात्र रहेको रहस्य खोलेकी थिइन्। प्रहरीसँगको बयानमा उनले धुलिखेलमा रहेकी प्रेमिकासँगै पढ्न नपाएर आफूमा नैराश्य बढेकाले उनीसँगै पढ्ने रकम जुटाउन अपहरणको नाटक गरेको स्वीकार गरेका छन्।
source:nagariknews