उर्जामन्त्री डा. प्रकाशशरण महतमाथि बागलुङमा एकीकृत माओवादीका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । आक्रमणमाको क्रममा नेपाल महिला संघ बागलुङकी सचिव शकुन्तला शर्मा गम्भीर घाइते भएकी छिन् । प्रहरी सँगको झडपमा पाँच माओवादी कार्यकर्ता पनि घाइते भएका छन् । मोदीखोला जलविद्युतको अनुगमनको क्रममा आएका मन्त्री डा. महतलाई बागलुङका कार्यकर्ता भेटघाटका लागि आउने क्रममा कालो झण्डा देखाइसकेपछि माओवादीले ढुङ्गमुढा गरेका थिए । माओवादी आक्रमणपछि प्रहरीले लाठीचार्ज गर्दा माओवादी निकट अनेरास्ववियुका होमनाथ चालिसे, राजिव घिमिरे, निर्मल जिसी, प्रशंसा केसी र मिना विक पनि सामान्य घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुको ढुङ्गमुढाबाट मन्त्री महतको बा. १. झ १०२६ नम्बरको गाडीमा क्षति पुगेको छ । माओवादीले भने शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले दमन गरेकोले आक्रमण गरेको बताएको छ । उर्जा मन्त्रीको कार्यक्रम आयोजना गरिएको होटल पिस प्यालेस भित्रै ढुङ्गमुढ गरिएपछि महिला संघकी सचिव शर्मा घाइते भएकी थिइन् । घटना पछि एकीकृत नेकपा माओवादीले बागलुङ बजार बन्द गराएको छ । 'शान्तिपूर्ण प्रर्दशनमा दमन भएपछि बन्द गराएका हौं' माओवादी सेक्रेटरी टेकबहादुर केसी आजादले बताए । बन्दको कारण शुक्रवार बागलुङका कलकारखाना, शिक्षण संस्था र जनजीवन प्रभावित भएको छ ।
त्यस्तै माओवादीले नेपाली काँग्रेसको पार्टी कार्यालयमा पनि तोडफोड गरी झण्डा समेत जलाएका छन् । उक्त घटनालाई नेपाली काँग्रेसले अन्यन्त आपत्तिजनक घटना भएको बताएको छ ।
source:kantipur