परिवारको सबै सदस्य एक एक गरेर गुमाएको कुनै युवकले पछि गएर आफ्नो देश पनि कोहि अर्कैको बनेको थाहा पाएपछि के गर्छ? यस्तो अवस्थामा कुनै कथा जोडेर अर्थ्याउन पनि बैराग लाग्दो हुन्छ। त्यसैले भूषण दाहालले अहिले तयार पार्दै गरेको नेपथ्यको एउटा गीतको दृश्य अलिक बेग्लै छ, जसमा सुरुदेखि अन्त्यसम्म बैराग लागेर हिडेको एउटा फिरन्तालाइ मात्र क्यामराले पछ्याएको भेटिनेछ। नोर्देन रुम्बाले लेखेको र चन्दन लोम्जेलले संगीत दिएको गीत 'कसैले सोधे भने, कुन हो तिम्रो गाउ' लाइ अमृत गुरुङका स्वरमा भर्खरै बजारमा आएको अल्बम 'मेरो देश'ले समेटेको छ। त्यसैको छायांकन आइतबार बुङमति छेउको फराकिलो फाटमा चलिरहेको थियो। 'यो गीतमा मैले कथा बुन्नै सकिन,' निर्देशक भूषणले भने, 'त्यसैले बौलाहा जस्तो भएर हिडेको एउटा पीडित गाउले युवकको मुडलाइ मात्र देखाउने कोशिस गरेको छु।'
भिडियोका नायक अमृत स्वयं बनेका छन्। उनको अनुहारमा एउटा आलो घाउ तयार पारिएको छ।
'घाउ नै घाउले बनेको गीत हो यो,' अमृतले भने, 'त्यसैलाई देखाउन यो प्रतिकात्मक घाउ बनाइएको हो।' यो गम्भीर अर्थ बोकेको भाव प्रधान म्यूजिक भिडियो भएकाले चूनौतीपूर्ण लागेको प्रतिक्रियासमेत उनले दिए। सामाजिक परिवेश र संवेदना देखाउने ताजा गीतहरुको म्यूजिक भिडियो अभाव भइरहेका बेला आफूले 'मेरो देश'बाट एकै पटक चारवटा गीत छानेको भूषणले बताए। त्यसमा तीर्थ श्रेष्ठको 'आमा हुनु कति गाह्रो छ', विक्रम सुब्बाको 'जुन झै शीतलु' र विक्रमकै 'मेरो देश' पनि समेटिएका छन्। उक्त अल्बममा भएका दुईवटा गीतको यस अगावै म्यूजिक भिडियो बनिसकेको छ। भूषणले यसअघि पनि नेपथ्यको 'सा कर्णाली' र 'रंगीन चरा' लाइ म्यूजिक भिडियोमा रुपान्तर गरिसकेका छन्। यी म्यूजिक भिडियो जनवरी एक तारिखदेखि रिलिज सुरु हुने जानकारी नेपालयका किरणकृष्ण श्रेष्ठले दिए।
source:nagariknews