एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण र शान्ति प्रक्रिया बिथोल्न अन्य दलले विदेशी शक्तिको आड लिएको बताएका छन्। बुधबार पार्टी निकट अखिल नेपाल औद्योगिक मजुदर संघको तेस्रो राष्ट्रिय सम्मेलनमा दाहालले षड्यन्त्रको मुकाविला गर्ने बताए।'शान्ति प्रक्रिया बिथोलेर नयाँ संविधान बन्न नदिन देशी, विदेशी षड्यन्त्र भएको छ', उनले भने- 'यो षड्यन्त्र र हस्तक्षेप, हैकमवादका बिरुद्ध लड्न आवश्यक छ। यसमा मजदुर वर्गको महत्वपूर्ण भूमिका हुन्छ।'
माओवादीको शक्तिलाई देखेर संविधानसभा बिघटन गर्न खोजिरहेको उनले बताए। संविधानसभामा माओवादी ठूलो दल भएको देखेर बिघटन गर्ने षड्यन्त्र भएको उनले बताए।'मुलुकमा भएको युगान्तकारी परिवर्तन बालुवाटार र सिंहदरबारबाट भएको हैन। नेपाली जनता र माओवादी आन्दोलनबाट मात्रै यो सम्भव भएको हो', उनले भने। विदेशी शक्तिले नयाँ संविधान र शान्ति विरोधीलाई प्रयोग गरेको आरोप उनले लगाए।
source:nagariknews