सरकारी जागिर छाडेर अनुभवी इन्जिनियर कतार र अफगानिस्तानतिर :

पछिल्लो समयमा आएर विभिन्न इन्जिनियरिङ सेवाका अनुभवी प्राविधिकहरू सरकारी जागिर छाडेर विदेश पलायन हुने क्रम तीव्र भएको छ। दुई वर्षयता उच्च सरकारी ‘करिअर' लाई माया मारेर विदेश पलायन हुनेको संख्या ३ सय नाघिसकेको छ।
ऊर्जा मन्त्रालय, मातहतको विद्युत् विकास विभाग र विद्युत प्राधिकरणबाट मात्र दुई वर्षयता पलायन हुने अनुभवी प्राविधिकको संख्या झन्डै ४० पुगेको सरकारी अधिकारीको भनाइ छ। इन्जिनियर पलायनले गर्दा सबभन्दा चपेटामा परेको छ- ऊर्जा मन्त्रालय र त्यस मातहतको विद्युत् विकास विभाग। ती दुई निकायमा २४ जना इन्जिनियरको दरबन्दी भए पनि अहिले ७ जनामात्रै कार्यरत छन्। तत्कालीन जलस्रोत र हालको ऊर्जा मन्त्रालयले लोकसेवामार्फत् इन्जिनियर व्यवस्था गर्न पटक-पटक विज्ञापन गर्दै आएको छ। तर, दरबन्दीमा नाम निकालेका इन्जिनियर मन्त्रालयमा हाजिर हुन नआइपुग्दै विदेश पलायन हुने गरेका छन्। नेपालबाट बौद्धिक पलायन हुनेहरूको गन्तव्यसमेत परिवर्तन भएको देखिन्छ। यसअघि अमेरिका, बेलायतलगायतका सम्पन्न मुलुकमा बौद्धिक पलायन हुने गरेकामा २ वर्षयता कतार, अफगानिस्तान र भारत लगायतका देशमा हुने गरेको छ। सिंचाइका अफगानिस्तान, र सडकका भारत भवन विभागका इन्जिनियरहरूको आकर्षण कतारतर्फ मोडिएको छ। कतारमा मात्र गएर काम गर्ने नेपाली इन्जिनियरको संख्या ३ सय नाघिसेकेको छ, जसमा सिभिल इन्जियिनर र आर्किटेक्ट बढी छन्। इन्जिनियर्स एसोसिएसनले नेपाली इन्जिनियर भएको कतारमा आफ्नो च्याप्टरसमेत खोलेको छ। च्याप्टरमा ३ सदस्य छन्। कतारमा समेत नेपाली इन्जिनियर जाने क्रम बढेको २ वर्ष भएको छ। भवन विभागबाट जागिर छाडेर गएका इन्जिनियर सरोज कार्की कतारमा व्यावसायिक हिसाबले चर्चित र स्थापित छन्। उनी त्यहाँ गगन चुम्बी घरको डिजाइन गर्छन्। कतारमा मात्र सरकारी सेवा छाडेर गएका इन्जिनियरको संख्या सयभन्दा बढी छ।

source:nagariknews