कोपनहेगन, डेनमार्क, - प्रधानमन्त्री माधवकुमार नेपालले आप्नो सरकारलाई भारत र चीनको पूर्ण समर्थन रहेको र यसैले नै शान्ति प्रक्रिया र संविधान निर्माणलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ दुवै देशको चाहना रहेको बताएका छन्। कोपनहेगनमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह र चिनियाँ प्रधानमन्त्रीसित शुक्रबार अबेर भेटवार्ता गरेपछि संवाददाताहरुसित कुराकानी गर्दै प्रधानमन्त्री नेपालले त्यस्तो दाबी गरेका हुन्। भारतीय प्रधानमन्त्रीले माओवादीलाई वार्ताका माध्यमबाट सेना समायोजन र शान्ति प्रक्रियामा सहमतिमा ल्याउन आग्रह गर्दै ऊ सहमतिमा नआई संविधान निर्माण हुन नसक्ने परिस्थिति सिर्जना भएमा आफूलाई सम्पर्क गर्न भनेको जानकारीसमेत प्रधानमन्त्री नेपालले दिए।
प्रधानमन्त्रीले भने - 'भारतीय प्रधानमन्त्री सिंहले यही सरकारले नै संविधान निर्माण गर्नुपर्ने भएकाले यसको विकल्प खोज्नुहुन्न भन्नुभयो। भारतले यही सर्कारले नै शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूरा गरोस् भन्ने चाहेको रहेछ।'
प्रधानमन्त्री नेपालले चीनको समेत आफ्नो नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहेको उल्लेख गर्र्दै संविधान निर्माण नभएसम्म यसको विकल्प खोज्न नहुने उसको धारणा रहेको बताएका छन्। चिनियाँ प्रधानमन्त्रीले जतिसक्दो चाँडो आफूलाई चीनमा स्वागत गर्न चाहेको र आफूले डिसेम्बरमा २६ मा आउने आश्वासन दिएको जानकारी नेपालले दिए।
अमेरिकी राष्ट्र्रपति ओबामाले समेत नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाप्रति चासो दिंदै दुवै कार्य समयमै सम्पन्न आग्रह गरेका छन्। प्रधानमन्त्री नेपाल र ओबामाबीच जलवायु परिवर्तनसम्बन्धी सम्मेलन स्थल कोपनहेगनको बेल्ला सेन्टरमा शुक्रबार राति भेटवार्ता भएको थियो। प्रधानमन्त्री नेपालले. ओबामाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति गम्भीर चासो दिएको र छिटो पूरा होस भन्ने कामना गरेको बताए।
ओबामा र नेपालबीच ठट्टा् :
ओबामाले प्रधानमन्त्री नेपालले राष्ट्रसंघीय महासभाका बेला उपहार दिएको खुकुरी आफूले अहिलेसम्म नपाएको उल्लेख गर्दै ठट्टा गरेका थिए। नेपालले ठट्टा गर्दै नपाएको भए अर्को खुकुरी उपहार पठाउने आश्वासन दिएका थिए।
ओबामाले आफूलाई देख्ने बित्तिकै चिनेको दाबीसमेत नेपालले गरे। नेपालले भने - 'मलाई देख्नेबित्तिकै ओबामा हेलो भन्दै आए। मलाई राम्रैसँग चिन्दा रहेछन्। अरु सरकार प्रमुख ओबामाले मलाई चिनेको देखेर दंग परे।'
source:nagariknews