भारतीय विदेशमन्त्री माघ १ मा आउने :

शान्ति प्रक्रियामा गतिरोध जारी रहेकै बेला भारतीय विदेशमन्त्री एसएम कृष्णा माघ पहिलो साता नेपाल आउने भएका छन्। विदेशमन्त्री कृष्णाले माघ १ देखि ३ सम्म नेपाल भ्रमण गर्नेछन्। माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल आउन लागेका उनी सबभन्दा उच्च भारतीय कूटनीतिज्ञ हुन्। कृष्णाले नेपाल-भारत द्विपक्षीय सम्बन्धका विषयमा नेपाली अधिकारीसँग वार्ता गर्नुका साथै शान्ति र संविधान निर्माण प्रक्रियालाई गति दिन दलहरूलाई आह्वान गर्ने स्रोतहरूले बताए। उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको निम्तो मान्न कृष्णा आउन लागेको उनका सल्लाहकार चिरञ्जीवी नेपालले बताए। भारतीय विदेशमन्त्रीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री नेपाल, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कोइरालालगायतसँग भेटवार्ता गर्नेछन्। भारतीय पक्षले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् राष्ट्रपति यादवसँग माघ १ मै भेट्न समय मागेको छ। समय तालिका निश्चित भएको छैन। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसँग कृष्णाले भेटी पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नेछन्।

source:nagariknews