वीरगंज पथलैया औद्योगिक करीडोरमा मंगलबार राति गोली हानी हत्या गरीएका माओवादी स्थानीय नेता राजेश मण्डलको शव सहित बुधबार माओवादीले वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास कार्यालय अगाडी बिरोध प्रदर्शन गरेको छ ।दिउसो करीब दुई बजे नारायणी उपक्षेत्रीय अस्पतालबाट मण्डलको शव सहित निकालिएको बिरोध जुलुश नगरको मुख्य सडक हुदै श्रीपुरस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालय अगाडी आएर बिरोध प्रदर्शन गरेको हो ।दिउसो करीब दुई बजेर ५० मिनेट देखि ३ बजे सम्म झण्डै १० मिनेट सम्म माओवादीले भारतीय महावाणिज्य दूतावासको मूल प्रवेशद्वार अगाडी शव राखेर बिरोध प्रदर्शन गरेको थियो । त्यस क्रममा माओवादी कार्यकर्ताले भारतीय दलाल नेपाल छोड, सीमा अतिक्रमण बन्द गर, भारतीय बिस्तार मुदार्वाद, हत्याको बदला लिन्छौ जस्ता नारा लगाएका थिए ।प्रहरीको बाक्लो उपस्थितिमा माओवादीले उक्त प्रदर्शन गरेका थिए । माओवादी प्रदर्शनलाई लक्षित गरी नगरको मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । दूतावासको करीब एक सय मिटर पूर्वमा जिल्ला प्रहरी कार्यालय र अंचल प्रहरी कार्यालय रहेको छ । अखिल नेपाल टे्रड युनियन महासंघ भोजपुरा उपराज्य समिति संंयोजक बाबुराम कौशिकले भारतकै प्रत्यक्ष संलग्नतामा यो घटना भएको आरोप लगाउदै त्यसै कारण उसको दूतावास अगाडी प्रदर्शन गरीएको बताए ।मण्डलको शव जिल्ला प्रशासन कार्यालयको मूल गेटमा राखि समेत प्रदर्शन गरीएको थियो । मण्डल माओवादी भोजपुरा उपराज्य समिति सदस्य तथा माओवादी पर्सा क्षेत्र नम्बर २ का सेक्रेटरी समेत थिए । मोटर साइकलमा आएको सशस्त्र समूहले छातापिपरामा रहेको हनुमान मेटल नजिकै उनलाई मंगलबार बेलुकी करिव ८ बजे गोली प्रहार गरी हत्या गरेको थियो । मोटरसाइकल रोकेर बाटोमा उभिइरहेको बेला मण्डलमाथि गोली प्रहार भएको थियो । टाउकोमा गोली लागेका मण्डलको घटनास्थमै मृत्यु भएको थियो । घटनास्थलबाट प्रहरीले एउटा मोटर साईकल बरामद गरेको छ ।माओवादी कार्यकर्ताले मण्डलको शव अस्पतालमा ल्याए लगत्तै प्रहरी प्रशासन बिरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले त्यहा सशस्त्र प्रहरीको अलौं बेस क्याम्पको ना २ च १६६० नम्बरको भ्यान र ना २ च ९११६ नम्बरको निजी टाटा मोबाईल भ्यानमा पेट्रोल छर्केर आगजनीको प्रयास गरेका थिए । प्रहरीले हस्तक्षेप गरी आगो लाग्नबाट रोकेका थियो । हत्याको बिरोधमा माओवादीले अनिश्चितकालीन पर्सा बन्दको आह्वान गरेको छ । बन्द आह्वानका कारण यातायातका साधन, शिक्षण संस्था, बजार आदि बन्द रहेका छन् । माओवादी कार्यकर्ताले वीरगंजका बिभिन्न चोकमा सडक अवरोध गरेका छन् ।
source:kantipur