राष्ट्रपति सधैं एउटै स्विटरमा :

स्विटर भनेपछि हुरुक्क हुने, फुटबल खेलेर नाकको डाँडी भाँच्ने, उस्तै परे अरूको जुत्ता पालिस गर्न पुग्ने मानिस कुनै देशको राष्ट्रपति हुन सक्ला ? हुन सक्दो रहेछ । इभो मोरालेस यस्तै मानिस हुन् । बोलिभियाका राष्ट्रपति !
रातो, सेतो र खरानी रंगका पाटायुक्त ऊनी स्विटर उनको ट्रेडमार्क !
राष्ट्रपति भएपछि उनी विश्व-भ्रमणमा निक्लेका थिए- आफ्नो पि्रय उही रंगीन स्विटर लगाएर । एकप्रकारले उनले दुस्साहस गरेका थिए । बोलिभियाको इतिहासमा यामारा जनजातिका प्रथम राष्ट्रपति मोरालेसकोे ड्रेस-सेन्स (पोसाक-चेतना) यति क्याजुअल (अनौपचारिक) देखेर विश्व छक्क परेको थियो । कुनै पनि देशको राष्ट्रपति भन्नासाथ सुट र टाईमा सजिएको विशिष्ट व्यक्तिको वैश्विक छविलाई मोरालेसले भत्काइदिएका थिए । पुँजीवादलाई मानवताको सबभन्दा ठूलो शत्रु मान्ने मोरालेसको स्विटरमोह धेरै पुरानो छ । सामान्य खानी मजदुरबाट जनजातिका प्रमुख नेता र त्यसपछि राष्ट्रपति हुन्जेलसम्म उनको आङमा बाह्रैमास हुन्थ्यो- रंगीन स्विटर । राष्ट्रपति भएपछि मोरालेसले पहिरनमा केही परिवर्तन गर्लान् कि, सुट र टाईमा सजिएर आफूलाई 'राष्ट्रपति सुहाउँदो' औपचारिक लुक देलान् कि भन्ने धेरैले सोचेका थिए । तर, उनले स्विटर फालेनन् । उनका नजिकका मानिसहरूमा जसले-जसले उनलाई 'महामहिम अब सुट धारण गर्दा कसो होला ?' भन्ने सल्लाह दिए, तिनले उनीबाट भरपूर झपार भेटे ।

source:nayapatrika