भारतले सीमा अतिक्रमण गरेको ठाउँमा माओवादी वरिष्ठ नेताहरु आफै सहभागि हुने भएका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको पोलिटव्युरो बैठकले चौथो चरणको आन्दोलन अन्तर्गत सीमा अतिक्रमित क्षेत्रमा विरोधसभा गर्ने निर्णय गरेको हो । बैठकपछि एक पोलिटव्युरो सदस्यले दिएको जानकारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल कालापानी र उपाध्यक्ष बाबुराम भट्टराई सुस्ताको विरोधसभामा सहभागि हुने कार्यक्रम रहेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्ष मोहन बैद्य इलामको पशुपतिनगर अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लक्ष्मणपुर बाँधमा आयोजित विरोधसभामा सहभागि हुने कार्यक्रम रहेको छ । विरोधसभाको मिति भने तय गरिएको छैन । । पोलिव्युरो बैठक सकिए लगतै आजै केन्द्रीय समितिको बैठक बस्दै छ । विगत केही दिनदेखि जारी माओवादी पालिटव्युरो बैठकले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन माथि छलफल गरेको थियो । त्यसैगरी केन्द्रीय समिति बैठकले अध्यक्षकै प्रतिवेदन र आन्दोलन खाका माथि छलफल गर्ने कार्यक्रम रहेको छ ।
source:kantipur