दुई शिक्षक, एक विद्यार्थी चार शिक्षक, दुई विद्यार्थी :

काठमाडौंसँगै जोडिएको पनौती नगरपालिकाभित्र यस्ता विद्यालय छन्, जहाँ एउटा सिंगै विद्यालयमा एकजना र अर्को सिंगै विद्यालयमा दुईजना मात्र विद्यार्थी छन् । विद्यार्थी नभए टाढा सरुवा हुनुपर्ने डरले सरकारी विद्यालयका शिक्षक पनि विद्यार्थी खोज्दै हिँड्न थालेका छन् ।पनौती— २ स्थित नैकिनटारमा रहेको महाकाली प्राविमा एकजना मात्रै विद्यार्थी छन्, जहाँ दुई शिक्षक छन् । पनौती— १ गैरीगाउँमा रहेको शारदा प्राविमा दुई विद्यार्थी छन्,जहाँ चार शिक्षक छन् । ४० विद्यार्थीबराबर एक शिक्षक हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा छ । तर, सहरमा सरकारी विद्यालयप्रति भरोसा कम हुँदै गएकाले सिंगो विद्यालयमै एकजना मात्र विद्यार्थी छन् । तर, गरिबी र विवशताले दुर्गममा भने चार सय विद्यार्थीलाई पनि एक शिक्षकले काम चलाइरहेका छन् ।पनौतीको महाकाली प्राविमा कक्षा ५ मा अध्ययनरत एकमात्र विद्यार्थी हुन्— मानबहादुर भुजेल । कक्षा १, २, ३ र ४ मा विद्यार्थी नै छैनन् । भुजेललाई पढाउन दुई शिक्षक छन्— दुर्गा गिरी र रामकृष्ण बानियाँ । अझ शिक्षिका गिरी त प्रधानाध्यापिका पनि हुन् ।एउटा मात्र विद्यार्थी भएपछि विद्यालय बन्द हुने र आफ्नो सरुवा हुने डरले शिक्षक यसै पनि आतंकित थिए । तर, एक्लै पढ्न झ्याउ लाग्यो भन्दै मानबहादुर पनि आउन छाडेपछि एक सातादेखि विद्यालय बन्दजस्तै छ ।प्रधानाध्यापिका गिरी सुत्केरी बिदामा छिन् भने शिक्षक बानियाँ आउँदै छन् । उनी पनि दिनभरि घाम ताप्छन् र फर्किन्छन् । शिक्षक बानियाँ पनि विद्यार्थी मानबहादुर आउलान् कि भनेर केहीबेर कुर्छन् र फर्किन्छन् ।'दसैँअघिसम्म त १० जना विद्यार्थी थिए, अहिले सबैले छोडे, एकजना मात्र बाँकी छन्,' शिक्षक बानियाँले नयाँ पत्रिकासित भने । विद्यार्थीहरू निजी स्कुलतिर आकषिर्त भएकाले सरकारी विद्यालयमा विद्यार्थी नभएको उनले बताए ।तर, अभिभावक भने सरकारी तलब खाने शिक्षक-शिक्षिकाको लापरबाहीले आफ्ना छोराछोरी निजी विद्यालयतिर सारिएको बताउँछन् । 'विद्यार्थी भएकै वेलामा पनि शिक्षक-शिक्षिका पढाउनुको सट्टा घाम तापेर बस्छन्, बाध्य भएर छोराछोरी अन्य विद्यालयमा लानुपरेको हो,' स्थानीय भुवन गिरीले भने । सरकारी विद्यालयमा पढाइ कमजोर भएका कारण ५ पास गरेका बालबाकिालाई निजीमा सार्दा ३ वा ४ कक्षामा भर्ना गर्नुपर्ने बाध्यता रहेको अभिभावकको भनाइ छ ।पनौती— १ स्थित शारदा प्राविको अवस्था पनि उस्तै छ । ऋषिकुमार खड्का प्रधानाध्यापक रहेको सो विद्यालयमा रामकला केसी, पशुपति माताच्छे र रामदेवी माताच्छे गरी चार शिक्षक-शिक्षिका छन् । तर, विद्यार्थी छन् जम्मा दुईजना । लक्ष्मी खड्का कक्षा २ र साजन खड्का कक्षा ३ मा पढ्छन् । तर, कक्षा १, ४ र ५ मा भने विद्यार्थीको संख्या शून्य छ । विद्यार्थी शून्य हुन थालेपछि शिक्षिका रामदेवी माताच्छेलाई भने हालै पनौती निमाविमा काजमा पठाइएको छ ।सरकारी विद्यालयमा विद्यार्थी घट्दै जानुको दोष सरकारलाई दिन्छन् शिक्षक-शिक्षिका । 'सरकारले शैक्षिक एकरूपता कायम गर्न नसकेकाले विद्यार्थी नआएका हुन्, निजी र सरकारी विद्यालयबीच एकरूपता आयो भने यो समस्या रहँदैन,' प्रधानाध्यापक खड्काले भने ।काभ्रेका जिल्ला शिक्षा अधिकारी सुन्दरकुमार शाक्यले पनि शिक्षक धेरै र विद्यार्थी कम हुने समस्या बढेको बताए । तर, सरकारी विद्यालयमा विद्यार्थी आकषिर्त गर्ने कुनै योजना उनीसँग पनि छैन । 'आगामी शैक्षिक सत्रभित्र विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालयलाई एकापसमा गाभ्ने तयारी गर्दै छौँ,' उनले भने, 'यसका लागि शिक्षक मात्र होइन, विद्यार्थीको पनि सरुवा गर्नुपर्नेछ ।'

source:nayapatrika