मुम्बई/ भारतीय चलचित्र अभिनेता सञ्जय दत्तले समाजवादी पार्टीको महासचिव पदबाट राजीनामा दिएका छन् ।
मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा दत्तले पार्टीबाट राजीनामा दिएको बताएका हुन् । पत्रकार सम्मेलनमा दत्तले समाजवादी पार्टीले महासचिव अमर सिंहलाई नराम्रो व्यवहार गरेकोमा पनि दुःखी भएको बताए ।अमर सिंह आफ्नो ठुल्दाइजस्तो भएको पनि अभिनेता दत्तले बताए । अमर सिंहले पार्टीको महासचिव पदबाट राजीनामा दिएपछि पदमा बसिरहने आफ्नो कुनै हैसियत नभएको पनि उनले बताए ।समाजवादी पार्टीका वरिष्ठ नेता रामगोपाल यादवको टिप्पणीदेखि पनि दत्त रुष्ट देखिएका छन् । पार्टीमा कोही फिल्मवाला आउनुले पार्टीलाई केही फाइदा नभएको यादवले बताएका थिए ।दत्तले भने, 'हामी फिल्मकर्मी मनकारी हुन्छौँ । हामी भावनात्मक मानिस हौँ । यादवको यस्तो टिप्पणीले मलाई साह्रै चित्त दुखायो ।'समाजवादी पार्टीका महासचिव अमर सिंहले केही दिन अघिमात्र पदबाट राजीनामा दिएका थिए ।
source:nayapatrika