'प्रचण्डले गोरु र बाख्रा चोरलाई पार्टीमा हुले' :

इटहरी पुस २३- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पूर्वी क्षेत्रीय ब्युरो इन्चार्जले प्रचण्डले गोरु र बाख्रा चोर तथा पूर्व राजाका सुराकीलाई पार्टीमा हुलेर क्रान्तिकारी कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत गरेका बताएका छन्। खराब चरित्रका व्यक्तिलाई यसरी नै हुल्दै गएमा पार्टी धेरै दिन टिक्न नसक्ने दाबी पनि उनले गरे। एकीकृत माओवादी पार्टी सामन्तवादी रहेको र उसको आन्दोलन सत्ता प्राप्तिका लागिमात्र भएको दाबी पनि इन्चार्ज अनवरतले गरेका छन्। 'एकीकृत माओवादीको अहिलेको नेतृत्वमा सामन्तवादी जग छ,' बिहीबार इटहरीमा युथ रिपोटर्स ग्रुपद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने- माओवादी पार्टी दक्षिणपन्थी, यथास्थितिवादी र पुँजीवादी शैलीबाट अघि बढेकाले आन्दोलन सत्ता प्राप्तिका लागिमात्र हो।' राष्ट्रिय स्वाधीनताको नारा अघि सारेर माओवादीले आन्दोलन जारी राखे पनि जनताले साथ नदिने उनले बताए। उनले माओवादीले आफनो पार्टीलाई भगौडाको संज्ञा दिए पनि नेतृत्व वर्गसँग चित नबुझेर कम्युनिष्टको क्रान्तिकारी विचार जोगाइराख्न नयाँ पार्टी खोलेको बताए। 'हामी भाग्ने थियौं भने जनयुद्धका क्रममै भाग्ने थियौं, जब गिरिजाप्रसाद कोइरालासँग प्रचण्डले भारतको दिल्लीमा सम्झौता गरे, त्यहीँदेखि हामी बाहिरियौं'- उनले भने। भारतको सल्लाहामा भएको १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर सच्चा कम्युनिष्ट पार्टीको आन्दोलनमा पूर्णविराम लगाउने कार्य भएदेखि माओवादी नेतृत्वसँग विमति सुरु भएको पनि उनले प्रष्ट पारे।

source:nagariknews