एकै ठाउँमा ६ शिशुका बीभत्स लास :

काठमाडौं, २२ पुस -मानवीय संवेदनाहीन काठमाडौंको कुुरूप तस्बिर बुधबार बिहान विष्णुमती खोलामा देखियो, जब सालनालसहितका ६ नवजात शिशुका लास खोलाकिनारमा छरपस्ट भेटिए । कोही छोरा थिए, कोही छोरी । तर, सबै एउटै प्लास्टिकमा पोको पारिएका थिए । एउटै व्यक्ति अथवा समूहले फालेको हो भन्ने पक्का भयो । तर, कसले र किन फाल्यो भन्ने खुलेको छैन । उपत्यकाका विभिन्न ठाउँमा शिशुका लास वेलावेलामा भेटिए पनि एकैपटक एकै ठाउँ र अझ एउटै पोकामा यति धेरै शिशुको लास भेटिएको यो नै पहिलो घटना हो । यस घटनाले काठमाडौंमा अबैध गर्भपतन गराउने ठूलै गिरोह सक्रिय रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।बुधबार दिउँसो काठमाडौं कालिमाटी र कुलेश्वरबीच विष्णुमती किनारमा तीन/चारजना सडक-बालक प्लास्टिक बटुल्दै थिए । हातभरि प्लास्टिक समाएका ती बालकका हात एउटा ठूलो कालो प्लास्टिकमा गयो । ठूलो पोको भएकाले त्यसभित्र केही न केही हुने आशाले ती बालकले पोको खोसाखोस गरे । यत्तिकैमा प्लास्टिक फुट्यो, शिशुका लास छरपस्ट भए खोलाकिनारमा । प्लास्टिकको पोकाबाट शिशुका लास निस्किएपछि प्लास्टिक टिप्ने बालकहरू डराए, ठूलै हल्लाखल्ला भयो । वरपर घाम तापेर बसेका स्थानीय बासिन्दा जम्मा भए । तत्कालै प्रहरीलाई खबर भयो । प्रहरी खोलामा पुगेपछि सुरु भयो, सम्भवतः इतिहासमै सबैभन्दा अनौठो घटनाको अनुसन्धान ।महानगरीय प्रहरी कालिमाटी वृत्तका डिएसपी शुकदेव न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लास्टिकको पोको पूरै खोलेको थियो । प्रहरीले ती शिशुको लास एक-एक गर्दै पर्गेल्दै गयो । तीनवटा लास बालकका थिए भने दुईवटा बालिकाका । एकैपटक यति धेरै शिशुको लास भेटिएपछि प्रहरीले आशंका गर्‍यो, सायद लास अरू पनि छन् कि ! नभन्दै केही पर अर्को लास भेटियो । तर, यो लासको शरीरको तल्लो भाग सडिसकेकाले लिंग पत्ता लाग्न सकेको छैन ।'स्थानीय बासिन्दामा त आंतक नै मच्चिएछ, खबर आएपछि हामी खोलामा पुगेर खोजिनिती गर्‍यौँ,' डिएसपी न्यौपानेले भने, 'सुरुमा एउटा पोकामा पाँच बच्चा भेटिए, पछि छुट्टै अर्को बच्चा पनि भेटियो ।'महानगरीय प्रहरीको कालिमाटी वृत्तबाट करिब दुई सय मिटर दक्षिणमा विष्णुमती नदी छ । नदी किनारमा फोहोरको ठूलै डंगुर छ । हो त्यही डंगुरमा भेटिएका थिए यी नवजात शिशुका लास । कानुनमा १२ सातासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ । तर, विष्णुमती किनारमा भेटिएका ६ वटै शिशु १२ साताका होइनन्, लगभग चारदेखि आठ महिनासम्मका देखिन्छन् ।'नेपालको कानुनमा १२ हप्ताभन्दा माथिको गर्भ तुहाउन पाइँदैन,' डिएसपी न्यौपाने भन्छन्, 'लिंगसमेत पहिचान भइसकेको हुनाले यी बच्चा अवैधानिक रूपमा फालिएका हुन् ।'तर, यति धेरै शिशुको लास एकैपटक कहाँबाट ल्याइयो भन्नेमा प्रहरी पनि रनभुल्ल परेको छ । प्रहरीले प्रारम्भिक रूपमा तीनथरी अनुमान गरेको छ । 'एउटै प्लास्टिकमा पोको पारिएको हुनाले छुट्टाछुट्टै व्यक्तिले ती बालबालिका फालेको हुँदै होइन,' महानगरीय प्रहरी कालिमाटी वृत्तका डिएसपी न्यौपानेले भने, 'ती बच्चा अबैध गर्भपतन गराउने कुनै समूहले फालेको हुनुपर्छ ।'डिएसपी न्यौपानेका अनुसार अबैध गर्भपतन गराउनेले एक/एक गरेर फाल्दा बढी रिस्क हुने हुनाले एकैपटक प्लास्टिकमा पोको पारेर फालेको हुन सक्छ । 'ती शिशुमध्ये केहीको शरीर सडिसकेकाले पनि ती बच्चा एकै दिनका हैनन् भन्ने प्रस्ट छ,' डिएसपी न्यौपानेले भने, 'यौनव्यवसायमा संलग्न महिलाले अबैध गर्भपतन गराएर फालेका पनि हुन सक्छन् ।'प्लास्टिकको पोको खोलाको किनारमा थियो, पोको पानीले छोएको थियो । 'त्यसैले त्यो पोको टाढैबाट खोलाले बगाएर ल्याएको पनि हुन सक्छ,' डिएसपी न्यौपानेले भने । यी तीन अनुमानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

source:nayapatrika