मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ पराजीत गर्दै मनाङ मस्यार्ङदी क्लब ब्रिटिस गोर्खा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दशरथ रंगशालामा निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल खेल गोलरहित बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा मच्छिन्द्रका प्रभावशाली खेलाडी रोहित चन्द र ओमप्रकाश गोल गर्न चुकेका थिए। दुवैको प्रहारलाई मनाङका गोल रक्षक विशाल श्रेष्ठले रोकेका थिए।कप्तान टासी छिरिङले मनाङका लागि विजयी गोल गरेका थिए। मनाङका शिव श्रेष्ठ, पाल्साङ लामा र जगजीत श्रेष्ठले पेनाल्टी गोल गरेका थिए। निरज रेमी मगरको प्रहार मच्छिन्द्रका गोल रक्षक तीर्थ रिजवालले रोकेका थिए। मच्छिन्द्रका विष्णु केसी, नरेश पोखरेल र रुपेश केसीले गोल गरेका थिए।बिहीबारको खेलमा मनाङका शिव श्रेष्ठ म्यान अफ द म्याच भए।आइतबार हुने १० लाख नगदको उपाधि भिडन्तमा मनाङ मस्यार्ङदी क्लबले नविल थ्री स्टारको सामना गर्नेछ। थ्रीस्टारले मंगलबार भएको पहिलो सेमिफाइनलमा रानीपोखरी कर्नर टिमलाई २-१ ले पराजीत गरेको थियो।
source:nagariknews