तनहुँबाट हराएका ८ किशोरीको राजधानीमा उद्धार :

तनहुँको माझकोट- ९ मिछुर्लुङ्गबाट सोमबार हराएका आठ किशोरीको नागढुङ्गा नाकाबाट उद्धार गरिएको छ । राजधानी भित्रिने र बाहिर जाने सवारी जाँचका क्रममा माइती नेपालले उनीहरुलाई एउटै बसमा काठमाडौं आइरहेको अवस्थामा फेला पारेको हो । उनीहरु त्यसै दिन भेटिए पनि मेडिकल जाँच र मनोबैज्ञानिक परामर्श पछि विहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मेडिकल जाँचमा सबै बालिकाको स्वास्थ्य स्थिति सामान्य रहेको माइती नेपालकी परामर्शदाता सुमित्रा श्रेष्ठले जानकारी दिइन् । घरबाट फिल्म हेर्न जान भनेर छ किशोरी र स्कुल जाने भनेर २ जना पुरानोबारीमा १० बजे भेला भेला भएर राजधानी लागेको उद्धार गरिएका किशोरीहरुले बताए । उनीहरु १२ देखि १७ वर्ष सम्मका छन् । उनीहरु कोही आफन्त र दिदीबहिनी हुन् । भेटिएका मध्ये दुई दिदी बहिनी १४ वर्षीया सपना र १२ वर्षीया सनु बराइली हुन् भने १५ वर्षीया शुसिला विक उनीहरुकी मामाकी छोरी हुन् । १७ वर्षीया सुकु नेपाली आफन्त पर्ने १६ वर्षीया जुना नेपालीको घरमा गएकी थिइन् । १२ वर्षीया उजेली विक, १५ वर्षीया मनिषा विक, १५ वषर्ीया सविना रानामगर छिमेकी हुन् । शुसिलाले काठमाडौं आएर काम गर्न घरबाट भागेका बताइन । आफ्नै गाउँको चिनेको दाइ राजु लामालाई भेटेर काम गर्ने योजनाले काठमाडौ आएको उनले बताइन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाका अनुसार किरोशीका आमाबाबुलाई जानकारी गराइएको र लिनका लागि काठमाडौं बोलाइएको छ । 'शुक्रबार सम्ममा आइपुग्नु भनेका छौं । उनीहरुलाई बाबु आमाको जिम्मा लगाउँछौं ।'

source:kantipur