'माओवादी कार्यकर्ता हत्यामा ठूलै शक्तिकेन्द्रको हात' :

बारामा बुधबार राति तीन कार्यकर्ता हत्यामा ठूलै शक्तिकेन्द्रको हात रहेको माओवादीले दाबी गरेको छ । 'हत्याकाण्ड ठूलै शक्तिकेन्द्रको गुरुयोजनाअन्तर्गत तयार गरिएको फौजी तालिमप्राप्त प्रतिक्रान्तिकारी गिरोहबाट गराइएको प्रस्ट हुन्छ,' माओवादी महासचिव रामबहादुर थापाले बिहीबार जारी गरेको बिज्ञप्ती उल्लेख छ ।बाराको गन्जभवानीपुरमा बुधबार राति हतियारधारी समूहले गोली चलाउँदा भोजपुरा राज्य समिति सदस्य रामप्रकाश यादव, बारा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सदस्य दाराप्रसाद यादव र गञ्जभवानीपुर गाउँ समिति सदस्य अम्विका महतोको मृत्यु भएको थियो । गोली प्रहारबाट माओवादी बारा जिल्ला समिति सचिवालय सदस्य कन्हैयाप्रसाद यादव र क्षेत्रीय समिति सदस्य सियारामप्रसाद कुशवाह गम्भीर घाइते भएका छन् । गोलीप्रहारमा एसएमजीलगायतका अत्याधुनिक हतियारको प्रयोग र ३०-३५ जनाको ठूलो जत्था सहभागी भएको माओवादी दाबी छ । 'राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति र नयाँ संविधान निर्माणको लागि हाम्रो पार्टीको केन्द्रीय समितिले चौथो चरणको सङ्घर्षको घोषणा गरेलगत्तै यसप्रकारको जघन्य हत्याकाण्ड गराइनु कुनै संयोगमात्रै मान्न सकिन्न,' थापाले बिज्ञप्तीमा भनेका छन् । माओवादीले हत्याकाण्डको सर्वपक्षीय छानबिन गरी दोषीमाथि कारबाही गर्न, मृतकहरूलाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र मृतकका परिवार एवम् घाइतेहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

source:kantipur