प्रधानमन्त्रीमाथि ढुंगामुढा/ विद्रोह गरे माओवादी लिट्टे जस्तै हुन्छः प्रधानमन्त्री :

नारायणगढ, २०६६ पुस २३ -प्रधानमन्त्री माधबकुमार नेपालले जंगली ब्यबहारमा सुधार नगरि पुनः बिद्रोहमा फर्किए माओबादी आंफैं समाप्त भएर जाने चेतावनी दिएका छन् ।'माओबादीले बेला बेलामा धम्कीपूर्ण भाषा प्रयोग गरेर बिद्रोह गर्छौ भन्छन्, यो उनिहरुको पतन हुने बाटोको सुरुवात हो ।' बिहीबार भरतपुरमा आयोजित एमाले कार्यकर्तालाई संबोधन गर्दे उनले भने-'अब गर्ने माओबादीको बिद्रोहले श्रीलंकाका टमिल टाईगर लिट्टेलाई जस्तै स्वयं उनिहरुलाई खरानी पार्नेछ ।' बिद्रोहको बाटोमा माओबादी नलागोस भन्ने सबैको आग्रह भएको तर उसको ब्यबहार र नेताहरुका बोलीले कतै त्यहि पतनको बाटो समाउने त होइन भन्ने आशंका जन्मिएको उनले बताए । सरकार परिवर्तन र सत्ता प्राप्त गर्न बिधिको बाटो अपनाउनुपर्ने भन्दै बिधि पालना नगर्ने दल, समूह र मोर्चा विश्वमा हराएर गएको उदाहरण दिंदै उनले भने-'श्रीलंकाको लिट्टेको प्रभावको कुनै बेला निकै चर्चा थियो, तर अहिले सकियो । माओबादीले पनि आफूलाई राजनीतिक चरित्र र बिधिको प्रक्रियामा समाहित गरेन भने बिलाएर गएका अन्य बिद्रोही समूहको जस्तै हालतमा पुग्नेछ ।'माओबादी कार्यकर्ताले भरतपुर बिमानस्थलमा कालो झण्डा प्रदर्शन गर्दे लाठी र ढुङ्गा प्रहार गरेपछि आक्रोसित बनेका प्रधानमन्त्री नेपालले माओबादीमा राजनितिक चरित्र झन झन हराउंदै गएको उल्लेख गरे । 'मलाई त के लागेको छ भने गधा धोएर गाई बन्दैन भन्ने उक्ति माओबादीलाई ठ्याक्कै मिलेको छ', प्रधानमन्त्री नेपालले एमाले कार्यकर्ता माझ आक्रोस पोख्दै भने-'सम्झाउंछौं, फकाउंछौं तर माओबादीको उहि पुरानो चरित्र बदलिएन ।' माओबादीका अराजक चरित्रले शान्ति प्रक्रियाका बिभिन्न चरण अबरुद्ध भएको प्रधानमन्त्रीले आरोप लगाए ।

source:kantipur