कतारमा २ सय १७ नेपालीको मृत्यु :

दोहा, - रोजगारीको सिलसिलामा कतार आएका नेपालीमध्ये सन् २००९ मा २ सय १७ जनाले ज्यान गुमाएका छन् । जसमा विश्वभर आतंक फैलाइरहेको स्वाइनफ्लुबाट हरुन शेख तथा पर्सियन खाडीमा डुङ्गा पल्टंँदा मृत्यु भएका १२ जनासमेत छन् ।
नेपाली दूतावासका अनुसार २००९ मा हृदयाघातबाट १ सय १५ जना, सडक दुर्घटनामा ४०, कार्यस्थल तथा अग्ला भवनहरूबाट खसेर २२ जना श्वासप्रश्वाससम्बन्धी समस्याका कारण १४, आत्महत्या गर्ने ९ जना तथा मृत्युको कारण थाहा हुन नसकेका अन्य १७ छन् । संख्यात्मक हिसाबले हेर्दा २००९ मा कतारमा मृत्यु हुनेको संख्या वृद्धि भएको भए तापनि प्रतिशतको हिसाबले भने विगत वर्षहरूको तुलनामा कमी देखिएको छ । झन्डै १ लाख नेपाली कामदार कार्यरत रहँदा सन् २००६ मा मृत्यु हुनेको संख्या १ सय ४३ थियो । १ लाख ५० हजारको हाराहारीमा हँुदा सन् २००७ मा १ सय ६२ जनाले ज्यान गुमाएका थिए । २ लाख ५० हजार कार्यरत अवस्थामा सन् २००८ मा १ सय ७५ जनाले ज्यान गुमाए । हृदयाघातबाट २००६ मा ७२ जना, २००७ मा १ सय ३ जना र २००८ मा १ सय ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी सडक दुर्घटनामा २००६ मा ३४ जना, २००७ मा २२ जना र २००८ मा ३५ जनाको मृत्यु भएको थियो । कार्यस्थल तथा अग्लो स्थानबाट खसेर मृत्यु हुनेको संख्या भने २००६ मा १९,२००७ मा २६ जना र २००८ मा २४ जनाले आफ्नो ज्यान गुमाए भने आत्महत्या गर्नेमा ०६, ०७ र ०८ मा ७ रहेका थिए । मृत्यको कारण खुल्न नसकेकाहरूको संख्या २००६ मा ९ जना थियो भने ०७ र ०८ मा सबैको कारण पत्ता लागेको थियो ।

source:kantipur