भारतले चार डलरमा पासपोर्ट दिने -

भारत सरकारले प्रति पासपोर्ट चार अमेरिकी डलरमा नेपाललाई 'आधुनिक मेसिन रिडेबल पासपोर्ट' (एमआरपी) उपलब्ध गराउने प्रस्ताव गरेको छ। भारतीय विदेशमन्त्री एसएम कृष्णाले काठमाडौं भ्रमणका क्रममा उक्त प्रस्ताव गरेको सरकारको स्रोतले 'नागरिक'लाई जानकारी दिएको छ।स्रोतका अनुसार सरकारले त्यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ।कृष्णा यही माघ १ गते आउनु एकदिनअघि परराष्ट्र मन्त्रालयले 'एमआरपी'को टेन्डरसम्बन्धी सबै प्रक्रिया प्राविधिक कारणले अघि बढाउन नसकिने जनाउँदै खारेज गरेको थियो। कृष्णा आउनु केही दिनपहिले भारतीय राजदूत राकेश सुदले परराष्ट्रमन्त्री सुजाता कोइराला र सचिव मदनकुमार भट्टराईलाई भेटी २ सय भारतीय रूपैया (करीब चार डलर) का दरले पासपोर्ट बनाइदिने प्रस्ताव गरिसकेका थिए।विश्वभरि अब दुई महिनापछि (अप्रिल १ देखि) 'एमआरपी' लागू हुँदैछ। नेपालले भने यही अवधिभित्र त्यस्तो आधुनिक पासपोर्ट आफ्ना नागरिकलाई उपलब्ध गराउन नसक्ने भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)सँग केही समय थप मागेको छ। संगठनले नेपाललगायत विश्वका अल्पविकसित देशहरूबाट आएको अनुरोधको कुनै जवाफ दिएको छैन।यसअघिको टेण्डर प्रक्रियामा प्रति पासपोर्ट मूल्यको प्रस्ताव भइसकेको भने थिएन।मन्त्रालयले भने प्रक्रिया खारेज गरेको दुई सातासम्म अर्को कुनै निर्णय गर्न सकेको छैन। नेपालका लागि तत्कालै एक वर्षका लागि चार लाख नयाँ पासपोर्ट आवश्यक छ भने नागरिकहरूलाई उपलब्ध गराइएको ४० लाख पासपोर्टलाई 'एमआरपी' ले प्रतिस्थापन गर्नुपर्नेछ। नेपालमा हाल हरेक दिन औसत चार हजार जनताले पासपोर्ट बनाउने गरेका छन्।'इकाओ'ले नेपालको प्रस्ताव स्वीकार गरेन भने लाखौं नेपालीको अन्तर्राष्ट्रिय आवागमन अवरूद्व हुने र विदेशबाट प्राप्त हुने 'रेमिट्यान्स' आश्रित अर्थतन्त्र सोझै प्रभावित हुने परराष्ट्र मन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले नागरिकलाई बताए। उनका अनुसार सीधै कुने देशसँग पासपोर्ट लिने कि यसअघिको टेण्डरमा प्रारम्भिक छनौटमा परेका चार कम्पनीबीच पुनः प्रतिस्पर्धा गराउने भन्ने निर्णयमा मन्त्रालय पुगेको छैन।अन्तर्राष्ट्रिय उडानमा सुरक्षाका लागि 'एमआरपी' लागू हुन लागेको हो। भारतलाई पासपोर्ट बनाउने जिम्मेवारी दिने हो भने पनि अप्रिलको म्याद भेट्न सकिने भने छैन।भारत आफैं भने सुदूर भविष्यको दृष्टि गर्दै अहिल्यै 'बायोमेटिक' प्रविधिको पासपोर्टमा जाने लामो तयारी गर्दैछ।

source - nagariknews