नेपाली सांगीतिक ब्यान्डले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने भएको छ। अन्डरग्राउन्ड मेटल्स् समूह इक्वेल्स नेपालको प्रतिनिधित्व गर्दै लन्डनमा हुने 'ग्लोबल ब्याटल अफ ब्यान्ड २००९'मा भाग लिन आइतबार प्रस्थान गर्दैछ। इक्वेल्समा जम्मा पाँच सदस्य छन्।'हामी प्रतिस्पर्धामा सहभागी हुनु अघि एकपटक नेपाली दर्शकको साथ चाहन्छौं,' इक्वेल्सका सदस्य अनिलले शुक्रबार आयोजित बिदाइ कार्यक्रममा भने, 'हाम्रा गीतहरू प्रायः मानिसले बुझ्दैनन्। रक संगीतकर्मीले मात्र यस्ता गीत बुझ्छन्।'
इक्वेल्सले शनिबार फन पार्कमा आफ्नो लाइभ कार्यक्रम प्रस्तुत गर्यो, जसलाई मुक्ति एन्ड रिभाइभल्स र १९७४ एडीले साथ दिए। यसअघि ब्यान्डको छनोट गर्ने जिम्मा पाएको, हाउस अफ इनोभेन्टले। नेपाल म्युजिक सेन्टरमा भएको प्रतिस्पर्धामा फाइनल पुगेका पाँच समूहबाट इक्वेल्सलाई छानेको थियो। उनीहरूले प्रतिस्पर्धामा अंग्रेजी गीत प्रस्तुत गर्दैछन्।
रक ब्यान्ड इक्वेल्ससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अर्जेन्टिना, जर्मनी, हंगेरी, क्यानाडा, अमेरिका र भेनेज्युएला लगायत २० देशका उत्कृष्ट ब्यान्ड भिड्दैछन्। प्रतिस्पर्धाको फाइनल मंगलबार हुनेछ। विजयी समूहले १ लाख डलर र विश्व भ्रमणको अवसर पाउनेछ।
source:nagarik