घेराबन्दीमा परेका मन्त्रीको तीन घण्टापछि उद्धार :

वैशाख १४ - तराई-मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुले जनकपुर चुरोट कारखानाका सुरक्षा गार्डलाई कुटपीट गरेको घटनाबाट आक्रोसित कारखानाका कामदारहरुले मंगलवार
युवा तथा खेलकुदमन्त्री गणेश नेपालीलाई झण्डै तीन घन्टा घेराउ गरेका छन् ।
कामदारहरुको आक्रोस तथा घेराउको कारण स्थानीय प्रशासनले मन्त्री नेपालीलाई कडा सुरक्षाबीच उद्धार गरेर बाहिर निकालेको थियो । उक्त क्रममा सुरक्षाकर्मी र कामदारबीच दोहोरो झडप तथा ढुंगा मुढा पनि भएको थियो । ढुंगा लागेर केही सवारी साधनको शिशा पनि फुटेको छ । झडपमा परी दुबैतिरका करीव एक दर्जन सामान्य घाइते भएका छन् । कामदारहरुले चुरोट कारखानाको मूल ढोकामा तालाबन्दी गरेका थिए । ताला फुटाउन सुरक्षाकर्मीहरुलाई हम्मे परेको थियो ।
सोमवारदेखि जचुकालिको खेलमैदानमा सुरु भएको राष्ट्रपति कप खेल प्रतियोगिताको उदघाटन गर्न यहाँ आएका मन्त्री नेपाली राति कारखानाकै अतिथि गृहमा बसेका थिए । अतिथि गृहमा पानी र विजुलीको उचित व्यवस्था नभएको भन्दै मन्त्री संगै रहेका तमलोपा कार्यकर्ताहरुले सुरक्षा गार्ड अशोककुमार मिश्रलाई राति पौने ११ वजे कुटपीट गरेका थिए । उक्त घटनाबाट आक्रोसित कारखाना कामदारहरुले मन्त्रीलाई घेराउ गर्नुका साथै विरोधमा चर्को नारावाजी पनि गरेका थिए ।
आर्थिक रुपले धरासायी भएको चनकपुर चुरोट कारखानाको सुविधा सम्पन्न अतिथि गृहमा बसोवास गर्नु मन्त्रीहरुको पहिलो प्राथामिकता हुने गरेको छ । कारखानाका कर्मचारी वसन्त ठाकुरले भने, 'हाम्रै खाने अनि हाम्रै कार्यकर्तालाई कुट्ने पनि ?'
कारखानाका कामदारहरुले अवदेखि जचुकालि अतिथि गृहमा कुनै पनि मन्त्रीलाई बस्न नदिने बताएका छन् ।
तमलोपा कार्यकर्ताको कुटाइबाट घाइते अशोककुमार मिश्रका अनुसार उनलाई कुटपीट गर्ने पप्पु नामका युवकले मुद्दा चर्काए सिंगै परिवारलाई अपहरण गर्ने धम्की दिएका छन् ।
मन्त्री नेपालीलाई बाहिर निकाल्नु पूर्व प्रमुख जिल्ला अधिकारी हरिराज पन्थ,प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल र सशस्त्रका एसपी कविराज थापाले मजदुर नेताहरुसंग पटक पटक वार्ता गरेका थिए । मजदुर नेताहरुले दोषीमाथि कार्यवाही र मन्त्रीले माफी नमागे सम्म घेराउ जारी रहने बताएका थिए । तर झण्डै एक सय सुरक्षाकर्मी परिचालन गरेर मन्त्रीलाई उद्धार गरिएको थियो ।

source:kantipur