ओली अचानक दिल्ली गएर फर्किए :

काठमाडौ, वैशाख १७ - एमाले नेता केपी शर्मा ओली अचानक दिल्ली पुगेर फर्किएका छन् ।  उनी बुधबार साँझ त्यसतर्फ गएर शुक्रबार फर्किएका हुन् ।
दुई दिनको बसाईमा उनले भारतका सत्तारुढ र विपक्षीदलका केही प्रभावशाली नेतालाई भेटेको जनाइएको छ । ओलीको कांग्रेसका वरिष्ठ नेता तथा अर्थमन्त्री प्रणव मुखर्जी र गुप्तचर निकायका केही उच्च अधिकारीहरुसंग भेटघाट भएको स्रोतले जनाएको छ । बुधबार साढे ३ बजे त्यसतर्फ गएका ओली शुक्रबार बिहान १० बजे फर्किएका छन् ।
माओवादीले सरकार परिवर्तनको अडान राख्दै ठूलो जनप्रदर्शन गर्ने र आमहडताल सम्मको घोषणा गरेपछि ओलीले दिल्ली भ्रमण गरेका हुन । उनको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली वर्तमान सरकारको पक्षपाती र माओवादीको कडा आलोचकको रुपमा मानिन्छन् । ओली निकटले भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बताएका छन् ।

source:kantipur