राजतन्त्रको समाप्तीसँगै प्रायः सिंगापुरमै बस्दै आएका पूर्व यूवराज पारस शाह बुधबार बिहान बीरगन्जमा झुल्किए । उनी आइतबार मात्रै सिंगापुरबाट काठमाडौं उत्रिएका थिए । लामो दाह्री र कपालमा देखिएका उनीसँग बीरगन्जका सञ्चारकर्मीले गरेको साक्षात्कारः
· तपाई यहाँ किन आउनु भएको हो ?
शाह: म यहाँ सामाजिक र धार्मिक कामको लागि आएको हो । त्यतिमै सीमित गर्न तपाईहरुलाई आग्रह गर्छु । अहिले राजनीतिक कुरो गर्ने समय होइन । एउटा समय आए पछि जनताले चाहे बोल्ने छुँ ।
· त्यो समय कहिले आउँछ त ? जेठ १४ पछि ?
शाह: यो त नेपाली जनताको हातमा छ ।
· सिंगापुरको एक संचार माध्यममा तपाईले नया दल खोलेर नेपाली जनताको माझमा जाने कुरा गर्नु भएको थियो ?
शाह: त्यस्तो मैले केही भन्या होइन । तपाईहरु मोड्नु हुन्छ । मैले केही भन्या छैन । जनताले गर्छ भने भने चुनावबाट जे पनि हुन सक्छ ।
· राजतन्त्र फेरि पनि फर्कने सम्भावना छ कि छैन ?
शाह: त्यो कसरी भन्ने त्यो भविष्यको कुरा हो । के हुन्छ के हुन्छ । तपाईले देख्नु भयो यहाँ जनलहर । जनतामा भर पर्छ जस्तो मलाई लाग्छ ।
· जेठ १४ मा संविधान नबने २०४७ को संविधान फेरि व्युँतिन्छ ?
शाह: त्यो मलाई थाहा छैन । म पोल्टिकल मान्छे पनि होइन ।
· पहिले भन्दा ह्यान्डस देखिनुहुन्छ नि ?
शाह: (हात जोडदै) त्यस्तो कुरो नगरौं ।
· जनताको जुन खालको सहभागिता देख्नु भा छ त्यसलाई तपाईंले कसरी हेर्नु भा छ ?
शाह: मैले मात्र भनेर केही मतलब भएन । तपाईहरुले कसरी हेर्नु भा छ ?
· तपाईंलाई के लाग्छ ?
शाह: म त एकदम खुशी छुँ नि हेर्नुस् । व्यक्तिगत रुपमा एकदमै खुशी छु । तपाईंहरुले पनि बुझ्नु पर्ने हो । तपाईहरुले पनि मान्छेलाई बुझाउनु पर्ने कुरा हो ।
· तपाईंलाई जनताले राजा बनाए बन्नु हुन्छ ?
शाह: म व्यक्तिगत रुपमा बन्दिन होला । संस्था भन्ने कुरा चाँही हो व्यक्तिगत कुरो होइन । हामीले जे गर्ने हो संस्थाले गर्ने हो । द्याट ईज मोर इम्पोर्टेन्ट जस्तो लाग्छ मलाई ।
· हिन्दू राष्ट्र हुनु पर्छ कि पर्दैन ?
शाह: हेर्नुस् म पनि एउटा हिन्दू हो । यहाँ पुजा गर्न आएको हो । यो पोल्टिकल क्वेस्चन कठिन हुन्छ । हेर्नुस् यसमा गयो भने भन्देखिन कसैलाई मन पर्ला कसैलाई नपर्ला । यस्तोमा किन छिर्ने म ?
· आफ्नो व्यक्तिगत धारणा ?
शाह: यसमा मैले केही बोले भने पोल्टिकल इस्यु हुन्छ ।
· अहिले नेपाली जनताको रुपमा बोल्न पाइन्छ नि त ?
शाह: तर मैले बोलेका कुरा नेपाली जनतालाई सोधे भने हुन्छ । तसर्थ तपाईंहरुले मलाई सोध्नु हुन्छ यस्तो कुरा ? तपाईंलेनै मलाई जनता भन्नु हुन्छ ?
· राजसंस्थाले जनताप्रति केही निकास निकाल्ने सोंचमा छ ?
शाह: हामीले त हेर्नुहोस्, जनताले जे भन्छ त्यही कुरा हुन्छ । हामी जनताले मान्ने संस्था हो । हामीले कहिल्यै जनतालाई मानी रहन्छौं । अस्ती पनि जनतालाई मानेरै हामीले गर्या हो । शान्तिको लागि गर्या हो । शान्ती हुनु पर्यो, देशमा हिंसा हुनु भएन, रक्तपात हुनु भएन ।
· धेरै पहिले देखि सिंगापुरमा बसी राख्नु भएको थियो ? अहिले नेपालमा आउनु भएको छ । यो सकृयताको आभाषबाट हामीले के अनुभव गर्ने ?
शाह: अस्ती भर्खर आइतबार नेपाल फर्किएको हो । वीरगन्ज आउनका लागि यहाँ फर्किएको हो ।
· फेरि सिंगापुर फर्किनु हुन्छ ?
शाह: गइहाल्छु नि । वेदर त्यस्तै त्यस्तै छ ।
· मिडियाको माध्यमबाट नेपाली जनतालाई केही भन्न चाहनु हुन्छ कि ?
शाह: हेर्नुस, हामी फेरी लडाई तर्फ जानु हुन्न । नेपाललाई शान्ति चाहिन्छ । विकास चाहिन्छ । यो गर्नलाई तपाईंहरुले एकदम साथ दिनु पर्छ । हेर्नुस् शान्तिबाटै निकास तर्फ जानु पर्छ हामीले ।
· अहिलेको राजनीति अवस्थालाई कसरी हेर्नु भा छ यहाँले ?
शाह: मैले हेरेकै छैन । म त भर्खरै आएको हो ।
· भारतीय मिडियाले केही समय पहिले तपाईको बारेमा नकारात्मक खबर छापेको बारेमा के भन्नु हुन्छ ?
शाह: मैले त्यही बेला एउटा स्टेटमेन्ट निकाली सकेको थिए । मलाई त्यो केही होला जस्तो लाग्दैन । पोल्टिकल जस्तो लाग्छ ।
· नेपालमै बस्नु पर्छ । नेपालमै स्थापित हुनु पर्छ जस्तो लाग्दैन ?
शाह: तपाईंहरुले भन्यो भने आइहाल्छु नि । तपाईंहरुले जा भनेर निकाल्दिनु भयो । आइज भन्नुस आउछु नि ।
· सिंगापुरमा रमाईलो छ कि नेपालमा ?
शाह: धेरै अन्तर छ नि । सिंगापुर अर्कै छ नेपाल अर्कै छ । नेपाल भन्या मेरो आफ्नो ठाँउ हो । हेर्नुस् यो ठाँउ त कहीँ पनि हुदैन नि । मातृभूमि हो नि । यस्तो ठाँउ कहाँ हुन सक्छ र ? त्यो त बाध्यर भएर पो सिंगापुर गएको ।
· म्युजिक र कलामा कति रुची राख्नु हुन्छ ?
शाह: धेरै रुची राख्छु । मलाई मन पर्छ । म अंग्रेजी, सेन्टिमेल, पप गित मनपराउँछु । मलाई पेन्टिङको चाहीँ शोख छ ।
source:kantipur