ललितपुर, वैशाख १५ - एमाले अध्यक्ष झलनाथ खनालले माओवादीले घोषित आन्दोलन फिर्ता लिए प्रधानमन्त्रीले राजिनामा दिने बताएका छन् । उनले माओवादीले आन्दोलन फिर्ता लिएर सहमतिमा अघि बढ्न चाहे प्रधानमन्त्रीको राजिनामाको जिम्मा आफूले लिने बताए ।
नागरिक समाजका प्रतिनिधिहरुले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा उनले त्यस्तो बताएका हुन् । '१८ गते अघि नै आन्दोलन फिर्ता लिनुस र सहमतिमा अघि बढ्नुस' माओवादीप्रति लक्षित गर्दै उनले भने, प्रधानमन्त्रीको जिम्मा म लिन्छु । उहा“ले राजिनामा दिनुहुन्छ । र राष्ट्रिय सरकार बन्छ ।' उनले राष्ट्रिय सहमतिको सरकारको लागि एमाले बाधक नभएको समेत बताए । उनले संविधान संशोधन गरेर संविधानसभाको समयसीमा बढाउनुपर्ने बताए ।
कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सत्तामा जान नभइ सहमतिकै लागि प्रधानमन्त्रीको राजिनामा माग गरेको बताए । प्रधानमन्त्रीले राजिनामा दिएपछि मात्र सहमतिको राजनीति अघि बढ्न उनले बताए । कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादीले हडताल घोषणा गरे सहमतिको कुरा गरेको आरोप लगाए ।
source:kantipur