'माओवादी बिरुद्ध सेना परिचालन हुन सक्छ' :

उद्योग मन्त्री महेन्द्रप्रसाद यादवले माओवादीले गर्ने भनेको आन्दोलन उत्तेजक भएर गए उसको बिरुद्ध सरकारले सेना परिचालन गर्न सक्ने चेतावनी दिएका छन् ।
  बुधबार वीरगंजमा पत्रकारसंगको साक्षात्कारमा उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने 'माओवादी प्रदर्शन उग्र हुदै गए र जनता भयभित र त्रसित भएको खण्डमा सरकारले त्यो निर्णय पनि लिन सक्ने संभावना छ ।'
माओवादीले हाल शान्ति प्रकृया र संविधान निर्माणलाई भन्दापनि सरकार निर्माणमा आफ्नो ध्यान बढी केन्द्रीत गरेको आरोप लगाउदै यादबले जनतालाई एक पटक संविधान निर्माण गर्न दिइएको अवसरबाट माओवादीले बन्चित गराई रहेको पनि आरोप लगाए । विस्तृत शान्ति सम्झौता अनुसार ६ महिना भित्र माओवादी सेना समायोजन भई सक्नु पर्नेमा माओवादीकै कारण त्यो हुन नसकेको उनको कथन थियो ।
मुलुकका सामु चार प्रमुख मुद्दा माओवादी सेना व्यवस्थापन,राज्य पुर्नसंरचना,वाईसीएलको अर्द्धसैनिक संरचना बिघटन र राज्यको शासकीय स्वरुपमा रहेको मतान्तरको अन्त्य गरी सहमतिय सरकार निर्माण गरीनु पर्ने उनको भनाई थियो । हालको अवस्थामा तीन ठूला दलको सहमति आवश्यक रहेको बताउदै उनले बर्तमान गतिरोध र परिस्थितिको जिम्मेवार पनि उनीहरुनै रहेको उनले आरोप लगाएका थिए । हालको गतिरोधको अन्त्य गर्न सरकार बाधक नरहेको बताउदै उनले राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्री समेत बाधक नरहेको बताएका थिए । हाल आफ्नो दल तराई मधेश लोकतान्त्रिक पार्टीमा आन्तरद्वन्द रहे पनि पार्टी संचार माध्यममा समाचार प्रकाशित भए जस्तै फुटको संघारमा भने नरहेको उनले जिकिर गरेका थिए । तमलोपा समग्र मधेश एक स्वायत्त प्रदेशको अडानमा कायमै रहेको पनि उनले बताए । आफ्नै पार्टीका नेता रामचन्द्र कुशवाहालाई अन्यायपूर्ण तवरले शिक्षा मन्त्रीबाट हटाइएको उनले स्वीकार गर्दै उक्त प्रकरणलाई दुःखद रहेको बताए । पार्टीमा हाल पनि टिकेे प्रणालीबाटै संचालित रहेको बताउदै उनले आफूहरु पार्टी लोकतान्त्रिक पद्धतिबाट संचालित होस् भन्ने पक्षमा रहेको बताए । प्रायः सबै मधेशवादी दलहरुमा लोकतान्त्रिक पद्धतीको अभाव रहेकाले अनेक टुक्रामा मधेशवादी दल बिभाजित भएको पनि उनले भनेका थिए ।
source:kantipur