वैशाख १३ - सडकबाटै सत्ता कब्जा गर्न भन्दै बैशाख १८ को प्रदर्शनका लागि यहाँबाट आइतबार र सोमबार गरी १ सय २० भन्दा बढी माओवादी नेता कार्यकर्ता काठमाण्डौ हिंडेका छन् । माओवादी स्रोतका अनुसार तीनदिनसम्म खुकुरी
तालिम लिएका वाईसीएल, शिक्षक र माओवादी कार्यकर्ता सहित जिल्ला सेक्रेटरी जिवलाल पन्थी र वाईसीएल जिल्ला अध्यक्ष ज्ञानकुमार बुढाको नेतृत्वमा दुई वटा बस लिएर माओवादी काठमाण्डौ तर्फ लागेका हुन् । 'काठमाण्डौ गएका साथीहरु अब सत्ता कब्जा गरेपछि मात्र र्फकने छन् ।', एक माओवादी जिल्ला नेताले भने, 'हार्ने कि जित्ने, अन्तिम लडाई लड्दै छौं ।' जिते सत्ता कब्जा हुने हारेमा जिल्ला फर्केर प्रहरी चौकी घेर्ने कार्यक्रम रहेको ति नेताले बताए । आइतबार माओवादीले लु. १ ख ५९९७ र ५९७७ नम्बरको बस रिजर्भ गरी कार्यकर्ता लगेका थिए । सोमबार विहान २० जनाको समुह सार्वजनिक बस चढेर काठमाण्डौका लागि हिड्का हुन् ।
जिल्लामा बाँकी रहेका कार्यकर्ताहरुले जिल्लामै केन्दि्रत रहेर आन्दोलन गर्ने तयारी भैरहेको माओवादीले जनाएको छ ।
काठमाण्डौमा खान बस्नका लागि सबै कार्यकर्तालाई पार्टीले नै व्यवस्था गरेको जनाएको छ । काठमाण्डौमा हुने प्रशिक्षणका लागि बैशाख १८ भन्दा केही दिन अगाडी नै कार्यकर्ता लैजानु परेको समेत माओवादीको दावी छ ।