बामदेवलाई कारवाहीको गर्न दवाव/ ज्ञापनपत्रमा नाम उल्लेख गरिएकोमा अधिकांश सभासद् र नेताहरुको आपत्ति :

काठमाडौ, वैशाख १९ - प्रधानमन्त्रीको राजिनामा माग गर्दै एमाले अध्यक्ष झलनाथ खनाललाई बुझाइएको ज्ञापनपत्रमा नाम उल्लेख गरिएका अधिकांश सभासद् र नेताहरुले आपत्ति जनाएका छन् ।

राजनीतिक सहमतिको प्रयास भइरहेका बेला 'पार्टीका नेताहरुका नामबाट सडकमा प्रधानमन्त्रीको राजिनामा मागिनु र मिडियामा वक्तब्यवाजी गर्नु' गम्भिर षड्यन्त्र भएको टिप्पणीगर्दे उनीहरुले ज्ञापनपत्रमा आफुहरुले हस्ताक्षर नगरेको र सहमति पनि नजनाएको बताएका छन् ।अभियानको नेतृत्व गरेका उपाध्यक्ष वामदेव गौतमलाई कारवाही गर्न दवाव परेको छ । गौतम सहितका नेताहरुले अध्यक्ष झलनाथ खनाललाई पठाएको ज्ञापनपत्र सार्वजनिक भएपछि उनीहरुले आपत्ति जनाएका हुन् ।ज्ञापनपत्रमा सात केन्द्रीय नेता, १४ सभासद् समेत गरी ६० नेता-कार्यकर्ताको नाम उल्लेख छ । तर ज्ञापनपत्रमा कसैको पनि हस्तक्षर छैन ।'त्यहाँ नाम उल्लेख गरिएका अधिकांशसंग मेरा सम्पर्क भएको छ,' पोलिटब्यूरो सदस्य एवं कार्यालय सचिव गंगालाल तुलाधरले भने- 'त्यसलाई पार्टी विरोधी गितिविधि भन्दै उहाँहरुले असहमति जनाउनुभएको छ । अधिकांशको सहमति र हस्ताक्षर छैन ।'सञ्चारमाध्यमहरुमा अध्यक्ष झलनाथ खनालले ज्ञापनपत्र गलत प्रक्रियाबाट आएको प्रतिक्रिया दिएका छन् भने स्थायी कमिटी सदस्य केपी ओलीले उपाध्यक्ष गौतम सहितका नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्रको उद्देश्यबारे पार्टीपंक्तिलाई भ्रम नभएको उल्लेखगर्दै कार्यालय सचिव तुलाधरले देशभरबाट यसमा संलग्नहरुलाई कारवाहीको माग भएको बताए । 'अब त पराकाष्टा नाध्यो, तुरुन्त कारवाही हुनुपर्छ भन्ने कार्यकर्ताको माग र दवाव आएको छ,' उनले भने- 'तुरुन्तै पार्टीको बैठक बोलाउने बारे छलफल सुरु भएको छ ।'
सभासद् सारदा कुमालले आफुले त्यस्तो ज्ञापन पत्रमा हस्ताक्षर नगरेको उल्लेख गर्दै त्यसमा आफ्नो नाम जोडिएकोमा दुःख ब्यक्त गरिन् । 'यो गलत प्रक्रिया हो, त्यसमा मेरो सहमति छैन र मैले हस्ताक्षर गरेको छैन,' उनले कान्तिपुरसंग भनिन्- 'उहाँहरुको मनसायनै गलत देखिन्छ ।'आन्तरिक समस्या र अनसन्तुष्टिबारे संसदीय दलमा लामो छलफल भएएको उल्लेखगर्दै उनले प्रधानमन्त्रीले निशर्त राजिनामा दिएमा निकास आउछ भन्नेमा आफु सहमत नभएको बताइन् । 'केही साथिहरुले पार्टीअध्यलाई भेटेर ज्ञापनपत्र बुझाउन कुरा गरेपनि के विषयमा भन्ने छलफल नभएको' उनले बताइन् ।
अर्का सभासद् पद्मा अर्याल प्याकेजमा सहमतिका लागि संवाद भइरहेका बेला प्रधानमन्त्रीको राजिनामा माग्नुको अर्थ नभएको बताइन् । 'एमाले निकासको बाधक होइन, साधक हो,' उनले कान्तिपुरसंग भनिन्- 'नेताहरु वार्तामा बसिरहुनु भएको छ । कस्ले कति छोड्ने भन्ने वार्तामा टेवुलमा हुने कुरा हो ।' ज्ञापनपत्रमा आफुले हस्ताक्षर नगरेको उनले बताइन् । उनले माओवादीलाई हिंसात्मक गतिविधि र आफैलाई सत्ता चाहिन्छ भन्ने हठ छोड्न आग्रह गरिन् ।'
तुलाधरका अनुसार नेतृ साहना प्रधान, सभासद् रामपि्रत पासवान, शान्तिदेवी चमार, पुरनसिंह दयाल, हनिा मियाँले कार्यालयमा सम्पर्क गरी ज्ञापनपत्रप्रति असहमति जनाएका छन् । त्यसैगरी नरवहादुर खाड, परशुराम मेघी गुरुङ, सालिकराम भण्डारी, लक्ष्मीभक्त उपाध्याय, खेमनारायण ढुङ्गाना, गणेश विक, मोहन चन्द अधिकारी, राजकुमार उप्रति, धुर्व ढकाल, रामकुमार उप्रेतीलगायत २० भन्दा बढिसंगै आफ्नो सम्पर्क भएको उल्लेखगर्दै उनले भने- 'उहाँहरु कसैले पनि त्यसमा हस्ताक्षर र समर्थन गर्नुभएको छैन । अरुसंग पनि सम्पर्क गर्ने क्रम जारी छ ।' पोलिटब्यूरो बैठकमा सर्वसम्मतले ६ बुदामा छलफल गर्ने सहमति भएको हो ।
पोलिटब्यूरो बैठकले प्याकेजमा सहमति खोज्ने सर्वसम्मत निर्णय गरेको उल्लेखगर्दै उनले त्यस विपरितका गतिविधि स्वीकार्य नहुने बताए ।ज्ञापनपत्रमा प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर राजनीतिक निकासको ढोका खोल्नु पर्ने माग गरिएको छ । प्रधानमन्त्रीले शनिबार राष्ट्रका नाममा गरेको संबोधनलाई मुलुकलाई मुठभेडतर्फ लैजाने अभिब्यक्ति भन्दै ज्ञापनपत्रमा प्रधानमन्त्री गृहयुद्धतर्फ उद्दत्त भएकाले तत्काल राजिनामाको पहल गर्न अध्यक्ष खनालसंग माग गरिएको छ ।

source:kantipur