काठमाडौं, वैशाख १९ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले अन्तिम विजय प्राप्त नभएसम्म राजधानी नछाड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । 'यो जनसमूहले नजितेसम्म काठमाडौं छाड्दैन,'
बानेश्वरमा कार्यकर्ताहरुलाई सम्वोधन गर्दै भट्टराईले भने, 'केही दिनसम्म शक्ति प्रदर्शन गरे 'कठपुतली' सरकार झुक्छ ।'
उपाध्यक्ष भट्टराईले जनसंविधान र शान्तिको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्नुको विकल्प नभएको बताए । वर्तमान सरकारलाई पिलोको संज्ञा दिंदै उनले पिलो जति पाल्यो उति पीडा दिने भएकाले यसलाई चाँडै निचोरेर फाल्नुपर्ने बताए ।
माओवादीले कुरा ठिकै उठाउने तर बीचैमा छाड्ने गरेको गुनासो जनताको रहेको उल्लेख गर्दै भट्टराईले तर यो आन्दोलन निर्णायक विन्दुमा नपुर्याएसम्म नछाड्ने बताए । तर आन्दोलनका बीचमा पनि संवाद भने जारी राख्ने उनको भनाइ थियो ।
सत्ताधारी दलहरुले विभिन्न बहाना बनाएर सरकारमा टिकिराख्ने योजना बनाएको बताउँदै भट्टराईले सरकार ढालेरै छाड्ने दाबी गरे । 'सेना प्रयोग गरेर सरकार टिकाउने असफल प्रयास भइरहेको छ । तर यो कदापी सफल हुँदैन,' उनले भने ।
source:kantipur