अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु :

कास्की, वैशाख २१ - एक दशकदेखि पोखरामा अलपत्र रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण कार्य सुरु भएको छ ।
जिल्ला क्रिकेट संघ तथा स्थानीयवासीको पहलमा मैदान निर्माणको काम सुरु भएको हो ।
'क्रिकेट खेल्ने योग्य ठाउँ 'पिच' तयारी भइसकेको छ,' संघका जिल्ला अध्यक्ष वीरेन्द्रसिंह गुरुङले भने, 'अब मैदान वरिपरि दुबो रोप्ने काम भइरहेको छ ।' पिच निर्माणका लागि मात्रै ६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
८० रोपनी जग्गामा १ सय ८४ मिटर लम्बाइ र १ सय ६५ मिटर चौडाइमा पोखरा रंगशालामा क्रिकेट मैदान निर्माण हँुदै छ । मैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला क्रिकेट संघलाई जग्गा छुट्टयाएको ११ वर्ष भइसक्दा पनि मैदान खेल्न त होइन सिक्नका लागि पनि योग्य बन्न सकेको थिएन ।
मैदान नबन्दा यहाँका खेलाडीहरू नगरप्रशिक्षण केन्द्रको जग्गा भाडामा लिएर धूले मैदानमा क्रिकेट खेल्न बाध्य थिए । पोखरामा करिब एक दर्जन क्रिकेट क्लबहरू सक्रिय छन् ।
सुरुमा क्रिकेटका लागि सम्याएर ठिक्क पारिएको मैदान परिषद्ले आर्चरीलाई दिएपछि निर्माणमा ढिलाइ भएको हो । जतिबेला क्रिकेटका लागि आएको १० लाख सहयोग खर्च भएको थियो । 'ठाउँ परिवर्तन गर्दा र बजेटको समस्याले पनि मैदान निर्माणमा ढिला भएका हो,' संघका सचिव देवसन प्रजुले भने । एक महिनायता मैदान निर्माणको कामले निरन्तरता पाएको हो । मैदान निर्माण पूरा गर्न ६० लाख रुपैयाँ अझै लाग्ने भएकाले स्थानीयको सहयोग जुटाउन जिल्ला क्रिकेट संघ जुटिरहेको अध्यक्ष गुरुङले बताए । एसियसन क्रिकेट क्लबमार्फत क्यानले हालसम्म मैदान निर्माणका लागि २० लाख रुपैयाँ प्रदान गरिसकेको छ ।
मैदान बनेर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकियो भने एउटा खेलले ५० प्रतिशत विदेशी पर्यटक भित्र्याउने पर्यटन व्यवसायीहरूको दाबी छ । 'पोखरामा बन्न लागेको अन्तर्राष्ट्रिय खेलमैदानले खेल पर्यटनमा सघाउ पुर्‍याउने छ,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष गोविन्दराज पहारीले भने, 'मैदान निर्माणका लागि पर्यटन व्यवसायी पनि तत्पर रहेका छौं ।'
मैदानकै अभाव देखाउनका लागि फोटोपत्रकार सुदर्शन रञ्जितले सेताम्मे टल्केको माछापुच्छे्रलाई पृष्ठभूमि बनाएर ढुङ्गे बगरमा साना क्रिकेटर खेलेको तस्बिर आफ्नो क्यामरामा कैद गरेका थिए । जुन तस्बिर एसियामै उत्कृष्ट भएर पुरस्कार हात पारेपछि मैदान निर्माणका लागि १० लाख सहयोग जुरेको थियो ।

source:kantipur