सहमतिको प्याकेज बनाउँदै कांग्रेस-एमाले :

काठमाडौं, वैशाख २१ - माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अनिश्चितकालीन आमहड्ताल गरिरहेका बेला सत्तारुढ दुई घटक कांग्रेस र एमाले भने सहमतिको प्याकेज बनाइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले शान्ति प्रक्रियाको टुंगो, नयाँ संविधान निर्माणलगायतको समय तालिका बनाइरहेको कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले जानकारी दिए । 'कुन काम कहिले टुंग्याउने भन्ने बिषयमा समय तालिका बनाउनमै केन्द्रित छौं,' केसीले संवाददाताहरुसित भने, 'महत्वपूर्ण बिषयमा प्याकेजमा सहमति भए राष्ट्रिय सहमतिको सरकारका बिषयमा पनि छलफल हुन्छ ।'
कांग्रेस-एमालेले बालुवाटारमा माओवादीलाई कसरी लोकतान्त्रिक बनाउने भन्ने बिषयमा पनि छलफल गरिरहेका छन् । त्यसका लागि सहमतिको प्याकेजमा माओवादीलाई हस्ताक्षर गराएर सरकारका बिषयमा छलफल गर्ने दुई दलको तयारी छ । 'माओवादीले संवैधानिक आधारभूम सिद्धान्तमा सहमति जनाउन आवश्यक छ,' उनले भने । दुई दलले वाईसीएलको अर्धसैन्य संरचना भंग गर्नुपर्ने र लडाकु समायोजन सकेर माओवादी निशस्त्र दल बन्नुपर्ने प्रस्ताव पनि प्याकेजमा समेटेका छन् ।
बैठकमा सहमतिका लागि माओवादीले सत्ता साझेदार प्रमुख दुई दलसँग अगाडी सारेको अडानबारे छलफल भइरहेको छ । बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल र कांग्रेसबाट कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, रामशरण महत लगायतका नेताहरुको सहभागिता छ ।
बैठक अघि मानवअधिकारवादी, नागरिक समाजका प्रतिनिधिले शीर्ष नेतालाई भेटेर संवैधानिक प्रकृया अनुसार सरकार परिवर्तन गर्न सुझाव दिएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्का, चरण प्रसाईं, शम्भु थापालगायतका नागरिक प्रतिनिधिहरुले राजनीतिक संकट समाधान गर्न सुझाव दिएका हुन् ।

source:kantipur