काठमाडौं, वैशाख ३१ - अमेरिकाबाट काठमाडौं फर्कने क्रममा अभिनेत्री बसुन्धरा भुसालको सामान हराएको छ। आफ्नो 'ह्याण्ड ब्याग'मा रहेको करिव आठ लाख बराबरको समान हराएको उनले दावी गरिन्।
व्यागलाई साथमा ल्याउन नपाउँदा सामान हराएको उनले गुनासो गरिन्।
'सुन र हिराका गरगहना र पैसा रहेको ह्याण्ड व्याग आफैंसँग ल्याउन खोजेकी थिएँ, दिइएन। काठमाडौं आएपछि व्याग त पाइयो तर समान केही पनि छैन,' उनले नागरिकसँग भनिन्। अमेरिकाबाट क्याथेप्यासिफिक विमानमा हङकङ आएकी बसुन्धरा ड्रयागन एयरबाट काठमाडौंआएकी हुन्। 'घडी, चस्मालगायत धेरैको नासो त्यही व्यागमा थियो।
काठमाडौं आइपुग्दा केही पनि थिएन,' उनले भनिन्,'मैले त हङकङमै आफ्नो सामानबारे सोधपुग गरेकी हुँ। मलाई दिएको चिटमा काठमाडौं पुगपछि पाईने कुरा लेखेको रहेछ।'
क्षतिपूर्ति पाउन पहल गर्दा आशालाग्दो जवाफ नपाएको उनको गुनासो छ।
भन्छिन्,'सामानको बिल माग्छन्। ०३२ सालमा बनाएको हिराको टपको विल कसरी देखाउँ।' अरुको नासो सम्वन्धित व्यक्तिलाई बुझाउन नपाउँदा आफू लाजमर्दो भएको उनले बताईन्। 'मलाई त पर्नु घाटा परिहाल्यो। अरुको समान समेत हराउँदा मुख देखाउनै लाज लागेको छ,' उनले पीडा पोखिन्। एकबर्षदेखि अमेरिकामा रहेकी बसुन्धरा वैशाख ४ मा नेपाल फर्किएकी हुन्। उनले 'चलचित्रकर्मी कल्याण कोष'मा अमेरिका निवासी १९ जना नेपालीबाट १८ सय ६५ अमेरिकी डलर समेत जम्मा गरेकी छिन्।
source:nagarik