पर्वत, जेष्ठ २ -   यहाँस्थित राप्रपा नेपालले अहिलेको अबस्थामा सबैले राजाको आवश्यकता महसुस  गरेकाले जनमत संग्रह मार्फत राजा ल्याउनु पर्ने बताएको छ । 
राप्रपा नेपालले  आइतवार आफ्नो २० औं स्थापना दिवसको अबसरमा पत्रकार सम्मेलको आयोजना गर्दै  उसले अहिले पनि राजालाई मान्ने धेरै भएकाले राजतन्त्रका बारेमा जनमत संग्रह  गर्नु पर्ने बताएको हो । 
सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरप्रसाद भुषालले राजा फाल्नु दुर्भाग्य भएको  भन्दै जनताले चाहे अहिले पनि राजतन्त्र व्युँताउन सकिने बताए । उनले  अहिलेका प्रमुख तीनदल माओवादी, कांग्रेस र एमालेले संविधान लेखन जस्तो  कार्यलाई ओझेलमा पारेर कुर्सीको खेलमा लागेको आरोप लगाए । 
तीनदलकै आपसी मतभेदकाकारण जनताले भनेकै र तोकिएकै समयमा नयाँ संविधान  नपाउनु त्यो भन्दा ठूलो दुर्भाग्य केही नभएको भुषालले सम्मेलनमा जानकारी  दिए । 'तीनदलका मुख तिनतिर फर्किएका छन्, 'भुषालले भने, 'अनी कसरी बन्छ  संविधान ?' उनले स्पष्ट बहुमत भएको माओवादी पार्टीलाई सडकमा राखेर कुनै  हालतमा पनि संविधान निर्माण गर्न नसकिने ठोकुवा गरे । 
सम्मेलनमा अधिकांश समय राजतन्त्रका बारेमा बोल्न खर्चिएका उनले  राजतन्त्रबारे नयाँ जनादेश लिएर जनमत संग्रहमा जानु पर्ने जनाए ।
source:kantipur