हामी नव उपनिवेश चाहन्नौं : प्रधानमन्त्री :

काठमाडौं, जेठ ३- प्रधान मन्त्री माधव कुमार नेपालले युरोपेली युनियन र अन्य विदेशी मुलुकको दवावप्रति आक्रोश व्यक्त गरेका छन्।
माओवादीसहितको राष्ट्रिय सरकारबारे विदेशीले सुझाव दिएपछि उनले आक्रोश व्यक्त गरेका हुन्।

फाइनान्सियल टाइम्सलाई दिएको अन्तरवार्तामा प्रधान मन्त्री नेपालले भनेका छन्, 'यदी उनीहरु (अन्तर्राष्ट्रय समुदाय) हामीलाई पढाउन या निर्देशन दिन चाहन्छन् भने त्यो कुनै पनि हालतमा स्विकार्य हुने छैन।' उनले विदेशीहरुलाई आफ्नो विषयमा मात्र चासो राख्न भनेका छन्।

'यहाँ कोही प्रभु होइनन र हामी कुनै नव उपनिवेश चाहन्नौं,' प्रधान मन्त्री नेपालले भनेका छन्। वैशाख १८ गतेदेखि माओवादीले आम हड्ताल थालेपछि युरोपेली युनियनले सबै राजनीतिक दलहरुलाई राष्ट्रिय एकताका लागि पहल गराउने प्रयास गरेको थियो। संविधान जारी गर्ने अन्तिम मिति नजिकिँदा पनि प्रगति हुन सकेको छैन्।

प्रधान मन्त्री नेपालले विदेशी हस्तक्षेपको विरोध गरेपनि गत सातामात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्ले नेपालमा रहेको शान्ति मिसन अनमिनको म्याद बढाएको थियो।

प्रधान मन्त्री नेपालले अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि पक्षमा नबोल्न खवरदारी समेत गरेका छन्। उनले कुनै पनि हतियारसहितको दललाई हतियाररहित नबनाई सत्तामा पुर्‍याउनुलाई ठूलो गल्ती भएको समेत बताए। उनले मुलुकले त्यही गल्तीको मूल्य चुकाइरहेको समेत बताए।

'माओवादीमा परिवर्तन धेरै सुस्त गतिमा भइरहेको छ। उनीहरुसँग उग्र वामपन्थी धार यथावत छ,' प्रधान मन्त्री नेपालले भने, 'उनीहरुसँग अझै पनि अधिनायक सोच कायम छ।'

source:nagarik