गृहमन्त्रालय माओवादीको टाउको गन्ती गर्दै :

अनिश्चितकालीन आमहडतालको पहिलो दिन आइतबार कुन स्थानमा कति र कसरी कार्यकर्ता बाहिर निस्किए भनेर गृहमन्त्रालयले दिनभर लेखाजोखा गर्‍यो ।
माओवादीको संख्या र उनीहरूको प्रस्तुति पत्ता लगाउन मन्त्रालयले ढाँचा तयार गरी मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई हरेक दुई घन्टामा रिपोर्ट गर्न निर्देशन दिएको थियो ।
मातहतबाट स्थितिबारे सूचना लिएर निर्देशन दिन गृहमन्त्री भीम रावल हरिहरभवनस्थित मन्त्री निवासबाट अन्य झन्डै आधा दर्जन मन्त्रीलाई साथै लिएर बिहान पौने पाँच बजे सिंहदरबार पसेका थिए । मन्त्रालयको निर्देशनअनुसार दिनभर तीनैवटा सुरक्षा निकायले माओवादी संख्याबारे जानकारी दिइरहेका थिए । तीनैवटा निकायले एकै स्थानको एकै समयमा दिएको विवरणमा हजारकै फरक परेपछि मन्त्रालयका अधिकारीहरूले तीनैवटा निकायको प्रतिवेदनलाई औसतमा निकालेको थियो ।
प्रविधिको अभावमा तीनैवटै निकायले अनुमानका आधारमा संख्याको विवरण पठाउँदा त्यस्तो फरक भएको हो । स्थितिलाई नियन्त्रणमा राख्न र मन्त्रालयमा एकिन विवरण दिन राजधानीका हरेक भीडमा परिसर, वृत्त, प्रभाग र चौकीका प्रमुखहरू दिनभर खटिएका थिए । मातहतका तीनैवटै निकायले विवरणहरू पठाइरहँदा तीनै सुरक्षा निकायका प्रमुखहरू भने 'कमान्ड पोस्ट' का नाममा दिनभर गृहसचिव डा. गोविन्द कुसुमको कार्यकक्षमा बसेका थिए । मन्त्रालयले उपत्यकाका तीन जिल्लाका ४३ चोकबाट माओवादीको संख्या संकलन गरेको थियो । उपत्यका बाहिर मुख्य सहर र सदरमुकाममा भेला भएकाको विवरण मन्त्रालयले प्रमुख जिल्ला अधिकारीमार्फत संकलन गरेको थियो । मन्त्रालयले फिल्डमा खटिएका सुरक्षाकर्मीबाट संकलन गरेको एकीकृत विवरण गृहमन्त्री भीम रावल र बालुवाटारस्थित निवासमा बसेका प्रधानमन्त्री माधवकुमार नेपाललाई पठाइरहेको थियो । मन्त्रालयमा संकलित एकीकृत विवरणअनुसार ४३ चोकमा आइतबार बिहान ६ बजे १८ हजार माओवादी कार्यकर्ता सडकमा परिचालित भएका थिए भने दिउँसो १२ बजे २६ हजार, दुई बजे २८ हजार भेला भएको निष्कर्ष निकालेको थियो । मन्त्रालयको प्रतिवेदनअनुसार दुई बजेपछि कार्यकर्ताहरूको संख्या घट्दै गएको थियो । सबै प्रहरीका निकायले माओवादीको परिचालन भने 'शान्तिपूर्वक' भएको जानकारी गराएका थिए ।  अनौपचारिक रूपमा संकलन गरिएको विवरणअनुसार मन्त्रालय उपत्यकामा बढीमा ५० हजारमात्रै कार्यकर्ता परिचालित भएको निष्कर्षमा पुगेको छ । निष्कर्षसँगै शनिबार सडकमा देखिएका माओवादी कार्यकर्ता कता गए ? भन्ने प्रश्न मन्त्रालयमा गम्भीर रूपमा उठेको छ । 'ठूलो संख्याका माओवादी कार्यकर्ता कता गए ? भन्ने सम्बन्धमा मन्त्री र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गछौं,' गृहमन्त्री भीम रावलले कान्तिपुरलाई भने । उपत्यकाबाहेक बाँकी ७२ जिल्लामा पनि उल्लेखनीय कार्यकर्ता परिचालन नदेखिएको गृहको दाबी छ । मन्त्रालयका अनुसार दाङ, सुर्खेत, कास्की र मोरङमा बढी माओवादी कार्यकर्ता बाहिर निस्किएका थिए । त्यसरी निस्किनेहरूको संख्या पनि ५ हजार बढी नभएको मन्त्रालयका एक अधिकारी बताउँछन् । मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी आमहडतालको पहिलो दिन छिटफुट घटनाबाहेक कुनै अपि्रय घटना नभएको जनाएको छ ।   

source:kantipur