काठमाडौं, जेष्ठ ४ - उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाको म्याद थप गर्ने बिषयमा माओवादी अन्तिम समयमा सहमतिमा आउने बताएका छन् ।
'संविधानसभाको म्याद थप गर्नुबाहेक माओवादीसँग अरु कुनै विकल्प छैन,' मंगलबार फोरम लोकतान्त्रिक संसदीय दलको बैठकपछि गच्छदारले संवाददाताहरुसित भने, 'जेठ १४ गते राति १२ बजे भए पनि माओवादी सहमतिमा आउन बाध्य हुन्छ ।'
गच्छदारले माओवादीकै कारण संविधान समयमै लेख्न नसकेको आरोप लगाउँदै तत्काल सहमतिमा आउन आग्रह गरे । 'हिजो संविधान लेख्न नसक्नुमा पनि माओवादीकै हात थियो,' उनले भने, अब अहिले संविधानसभाको म्याद थप गर्ने बिषय उसकै हातमा छ'।'
फोरम लोकतान्त्रिकको बैठकले भने संविधान बन्ने सुनिश्चितता नभएसम्म संविधानसभाको म्याद थप गर्नुको औचित्य नरहने ठहर गरेको छ । सरकारले संविधानसभाको म्याद थप गर्न संविधान संसोधन विद्येयक दर्ता गराए पनि माओवादीले सरकारले राजिनामा दिनुपर्ने तथा सहमतीय प्रणालीमा जानुपर्ने अडान राख्दै आएको छ ।
source:kantipur