सिलिगुडी (भारत), जेष्ठ ४ - अल्पसंख्यक नेपालीभाषी र बहुसंख्यक खासीवीचको तनावले उग्र रुप लिएको छ । यस क्रममा सोमवार पुनः भएको झडपमा तीन जना नेपालीभाषी मारिएका छन् ।
मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीले दिएको जानकारी अनुसार मारिनेमा मेघालयको वडापानी भन्ने स्थानका ७० वर्षिय धनपति वास्तोला छन् । अन्य दुईको नाम खुल्न सकेको छैन ।
तीनैजनाको कुटपिटपछि मृत्यु भएको बताइएको छ । जोशीका अनुसार कोइलाखानीमा काम गर्न पुगेका नेपालीलाई कुटपिट गरेर देश छाड्न चेतावनी दिइएको छ ।
पूर्वोत्तर भारतको मेघालय र आसामको सीमामा पर्ने लांगपीमा गत आइतवार नेपालीभाषी र रैथाने खासी समुदायवीच झडप भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर ७ जना खासी समुदायका व्यक्तिले ज्यान गुमाएका थिए ।
source:kantipur