धार्मिक भ्रमणका लागि भन्दै नेपालगञ्ज आएका पूर्वराजा ज्ञानेन्द्रले दैवीशक्ति प्राप्तिका लागि विशेष पूजा
अर्चना गरेको खुलेको छ। दुई पटक राजा हुने दुर्लभ अवसर पाएका ज्ञानेन्द्रले यहाँको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरमा आइतबार विहान विशेष पूजा अर्चना गरेका थिए।
मन्दिरका महन्थ चन्द्रनाथ योगीका अनुसार, राजाकै हैसियतमा उनले पूजा गरेका थिए। 'नव दुर्गा(नौ देवी)का नामले पूजा भएको छ ', महन्थ योगीले नागरिकसँग भने,-"त्यो दैवी शक्ति प्राप्त गर्नका लागि हो।" देवीको खास कृपा प्राप्तीका लागि यस किसिमको पूजा गरिन्छ।
मन्दिरमा पूजा गर्न जानुअघि पूर्वराजा ज्ञानेन्द्रले स्थानीय त्रिभुवन चोकबाट पैदल यात्रा गरेका थिए। गर्मीका कारण पसिनाले भिजेका पूर्वराजालाई सम्पूर्ण देवताको पूजाअर्चना गर्न सकिंदैन भने एउटै ठाउँबाट पनि पूजा गर्न सकिने उनले बताएका थिए। तर, सबै देवताको गर्ने, त्यसैको लागि नै आएको हो भन्ने जवाफ प्राप्त भएको महन्थ योगीले बताए।
उनले गणेश, भैरव र हनुमानको पनि पूजा गरेका थिए। त्यस्तै गरी खडेश्वरनाथ महादेव (जुँगे महादेव)को मन्दिरमा पनि उनले पूजा गरेका थिए। मौन धारणको रुपमा मन्दिरमा प्रवेश गरेका ज्ञानेन्द्रले इशाराबाटै हात थापेको र गार्डले दक्षिणा दिएपछि पूजारीलाई दिएका थिए। एक/एक सय दक्षिणा दाजू र आफूलाई दिएको पुजारी पदमनाथ योगीले बताए। यसअघि राजा भएको बखत पत्नी कोमलसँगै आएको बेला एक सय एक रुपैंया दक्षिणा पाएका थिए।
source:nagarik