काठमाडौ, जेष्ठ ११ - नेपालले चैत १९ गतेदेखि मेसिन रिडेबल पासपोर्ट जारी गर्न नसकेपछि अंग्रेजी भाषामा 'यो
मेसिन रिडेबल राहदानी होइन' लेखेर जारी गरेको हस्तलिखित राहदानीमा भिसा जारी गर्न जर्मनीले अस्वीकार गरेको छ ।
छोराको डिपेन्डेन्ट भिसाका लागि राहदानी बनाएर गत साता नेपालस्थित जर्मनी दूतावासमा आवेदन दिन पुगेकी एक महिलाले उक्त राहदानीमा जर्मनीले भिसा जारी गर्न अस्वीकार गरेको दुःखेसो पोखिन् । 'जर्मनीमा भएका बाबुलाई भेट्न छोरालाई पठाउन राहदानी बनाई जर्मनी दूतावासमा आवेदन गरेकी थिएँ,' ती महिलाले भनिन्, 'तर जर्मनी सरकारले हस्तलिखित राहदानीका बारेमा निर्णय नगरिसकेको जनाउँदै सबै ओरिजिनल डकुमेन्ट राखेर पछि सम्पर्क गर्न भने ।'
ती महिलालाई जर्मनी दूतावासका कर्मचारीले मेसिन रिडेबल पासपोर्ट जारी नभएको अवस्थामा हस्तलिखित राहदानीलाई मान्यता दिने कि नदिने भन्ने निर्णय जर्मन सरकारले गरिनसकेकाले भिसा जारी गर्न नसक्ने जनाएका थिए । 'हामी हाम्रो सरकारलाई के गर्ने भनेर सोध्छौं भन्ने जवाफ दिए,' ती महिलाले कान्तिपुरलाई भनिन्, 'भिसाका सम्बन्धमा कहिलेसम्म निर्णय हुन्छ भनेर सोध्दा निश्चित उत्तर दिएनन् । दूतावासका कर्मचारीले ती महिलालाई भिसाका लागि एक दुई हप्तादेखि अनिश्चित समयसम्म कुर्नुपर्ने हुनसक्ने उत्तर दिएका थिए ।
नेपालस्थित जर्मनी दूतावासले चैत १९ पछि नेपाल सरकारले जारी गरेको हस्तलिखित राहदानीमा भिसा जारी नगरेको जनाउँदै तर राहदानी अस्वीकार नगरेको जनाएको छ । 'जर्मनीको गृह मन्त्रालयले चैत १९ पछि नेपालले जारी गरेको हस्तलिखित राहदानीबारे के गर्ने भन्ने निर्णय गरिनसकेकाले भिसा जारी गर्न नसकिएको हो,' दूतावासका जनसम्पर्क अधिकृत कृष्ण कार्कीले कान्तिपुरलाई भने, 'नेपाल सरकारले जारी गरेको राहदानी अस्वीकार गरेको होइन ।'
'बाध्यकारी प्रावधान' अनुरूप नेपालले चैत १९ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्न नसकेपछि परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई चार महिनाका लागि हस्तलिखित राहदानी स्वीकारिदिन आग्रह गर्दै पत्र लेखेको थियो । त्यसअनुरूप आईकाओले आफ्ना सदस्य राष्ट्रलाई 'सर्कुलर' जारी गरिसकेको छ । उक्त सर्कुलर जर्मन सरकारले पनि पाइसकेको छ । तर त्यसबारे भिसा जारी गर्ने अधिकार पाएको जर्मनीको गृह मन्त्रालयले निर्णय गरिनसकेको कार्कीको कथन छ ।
कार्कीले भिसाका लागि परेका आवेदनमा भिसा जारी गर्नै पर्ने 'डेटलाइन बाउन्ड' कारण नदेखिएकाले पनि दूतावासले तत्कालका लागि भिसा जारी नगरेको बताए । 'हामीले प्राप्त गरेको कुनै पनि आवेदनमा भिसा जारी हुनुपर्ने कारणसहितको समयावधि तोकिएको छैन,' उनले भने, 'त्यसले पनि ढिलाइ भएको
हुनसक्छ ।' यसअघि स्विट्जरल्यान्डको दूतावासले पनि चैत १९ पछि जारी राहदानीलाई भिसा दिन अस्वीकार गरेको थियो । परराष्ट्र मन्त्रालयले कारण खुलाएपछि मात्र स्विस दूतावासले भिसा जारी गरेको थियो ।
परराष्ट्रका शिष्टाचार महापालले जर्मनीले चैत १९ पछि जारी गरेको राहदानीमा भिसा जारी नगरेकोसम्बन्धी कुनै गुनासो नसुनिएको बताए । 'दौत्य सम्बन्ध गाँसिएको ५० वर्ष नाघिसकेको अवस्थामा जर्मनीले भिसा जारी गर्नुपर्ने हो,' उनले भने ।
source:kantipur